देश

‘एक राष्ट्रसेवक एक फल’

भक्तपुर । जिल्लास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति भक्तपुरले १९ औंँ राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवस आजदेखि शुरु भएको छ ।

विश्व वातावरण दिवसका अवसरमा एक राष्ट्र सेवकले एक फलफूलको बिरुवा रोप्ने, खुला दिसामुक्त क्षेत्र घोषणापछि पूर्ण सरसफाइ कार्यक्रम अनुगमन गर्ने, जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिकीकरण गर्ने र पखाला तथा पानीजन्य रोगको पूर्वतयारी कार्यक्रम एक सातासम्म सञ्चालन गर्ने समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले बताए ।

सप्ताहअन्तर्गत नै आगामी शनिबार १५ औंँ हप्ताको हनुमन्ते सरसफाइ अभियान चलाइने बताउँदै उहाँले समितिले जिल्लामा सञ्चालित खुला दिसामुक्त क्षेत्रको घोषणाको पूर्ण सरसफाइ कार्यक्रमको अनुगमन राष्ट्रिय सरसफाइ सप्ताहभित्रै अनुगमन समिति बनाई गरिने बताए ।

दिवसका अवसरमा आज जिल्लास्थित सम्पूर्ण कार्यालयमा वृक्षरोपण गरिएको छ । जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको फलफूल र अन्य बिरुवा सरकारी कार्यालयमा प्रत्येक कर्मचारीले रोपेको प्रमुख जिल्ला अधिकारी नारायणदत्त भट्टले जानकारी दिए । हरेक कार्यालयका एक राष्ट्रसेवक कर्मचारीले एक फलको बिरुवा रोपेका छन् । त्यसको रेखदेख एवं संरक्षण कर्मचारी आफँैँले गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दिवसकै अवसरमा आज प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले आफ्नै घरबाट वृक्षरोपणको शुरुआत गर्नुभयो । सूर्यविनायक नगरपालिका– ७ गुण्डुमा उहाँले सरकारी कार्यालय, वडा कार्यालयका पदाधिकारी एवं स्थानीय बासिन्दालाई बिरुवा बाँड्नुभयो ।

त्यसैगरी सूर्यविनायक नगरपालिकाद्वारा सूर्यविनायक गणेश मन्दिर परिसरमा आयोजित कार्यक्रमको नगर प्रमुख वासुदेव थापाले शुरुवात गर्नुयो । वडा कार्यालयको समन्वयमा भएको वृक्षरोपणमा सूर्यविनायक जंगल र अन्य क्षेत्रमा वृक्षरोपण गरिएको छ ।

भक्तपुर नगरपालिकाले हरेक नयाँ वर्षमा बिस्केट जात्रा, काठमाडौँंका इन्द्रजात्रा तथा काभ्रेपलाञ्चोकका चण्डेश्वरी जात्रा र साँगाको बिस्केट जात्रामा आवश्यक लिंगो लैजाने ठाउँ चित्तपोलस्थित सल्लाघारी जंगलमा पनि वृक्षरोपण गरिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिदेखि वडाध्यक्ष र विद्यार्थीले समेत वृक्षरोपण गरेका छन् । दिवसकै अवसरमा भक्तपुर नगरपालिका, दरबार स्क्वायरस्थित पद्म माविले आज सरसफाइ गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख गेलालले उद्घाटन गर्नुभएको कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिकालगायतले सरसफाइ गरेका थिए । यस्तै मध्यपुरथिमि नगरपालिकाका विभिन्न सम्पदा, विद्यालय, पर्यटकीय क्षेत्रमा पनि सरसफाइ गरिएको छ ।