कृषि

९०० विरुवा रोपण

इटहरी । अठ्चालीसौँ विश्व वातावरण दिवसका अवसरमा आज सुनसरी जिल्लाका विभिन्न स्थानमा सरसफाइ एवं वातावरण संरक्षणसम्बन्धी सचेतना अभियानसँगै १२ स्थानीय तहले आआफ्नै क्षेत्रमा वृक्षरोपण एवं वातावरण संरक्षण सम्बन्धमा सचेतनमूलक कार्यक्रम सञ्चालन गरेका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सुनसरीको योजनामुताबिक इटहरी उपमहानगरपालिका–१२ स्थित खनारको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरका डिल क्षेत्रमा करीब चार सय विभिन्न जातका बिरुवा रोपिएको छ । उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत जनप्रतिनिधिसमेतको उल्लेखनीय सहभागिता थियो ।

त्यसैगरी उपमहानगरपालिका क्षेत्रमा प्लास्टिक झोला निषेध अभियान चलाइएको छ । यसै अवसरमा सशस्त्र प्रहरी, बराह बाहिनी मुख्यालय पकली सुनसरी परिसरमा विभिन्न जातका पाँच सय बिरुवा रोपिएको सिद्धकाली गणका सशस्त्र प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए ।

यस्तै धरान, इनरुवा, दुहवी, बराहक्षेत्रलगायत स्थानमा पनि बिरुवा रोपणका साथै सरसफाइ कार्यक्रम सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी सुनसरीका डिभिजनल इञ्जिनीयर देवनाथ सिंहले जानकारी दिए । सोही सन्दर्भमा १९ औँ राष्ट्रिय सरसफाइ दिवसको उद्घाटन गर्दै डिभिजनल इञ्जिनियर सिंहले डिभिजन कार्यालय र त्यस अन्तर्गतका विभिन्न स्थानमा बिरुवा रोप्ने कार्यसमेत भएको बताए ।