पर्यटन/संस्कृति

अनेक कामका नाममा कमाउ धन्दा गर्नेमाथि छानबिन हुँदै

काठमाडौं । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुलाई बिरामी बनाई फर्जी उद्धार गर्दै आएका ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी र अस्पतालमाथि छानबिन हुने भएको छ ।

विगत केही वर्षयता पर्यटन व्यवसायीहरुले यस्तै फर्जी धन्दा सञ्चालन गर्ने क्रम नरोकिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा अनुसन्धान गर्न ५ सदस्यीय कार्यसमिति बनाएको हो ।

‘केही ट्रेकिङ एजेन्सीले उच्च भूभागमा पुगेको पर्यटकलाई लेक लागेको बहाना वा ती पर्यटकले थाहा नपाउने गरी खानामा सोडा वा अखाद्य वस्तु मिसाएर पखाला चलाउने र काठमाडौंबाट होलिकप्टर झिकाई बिमा दावी गर्ने चलन छ,’ एक हेलिकप्टरका सञ्चालकले भने ।

उनका अनुसार ठगी गर्ने उद्देश्य भएका एजेन्सीहरुले काठमाडौंमा बिरामीको उपचार गराउने छुट्टै अस्पताल छन् । त्यहाँ सबै सेटिङ मिलाइएको हुन्छ । –कान्तिपुर दैनिकबाट