देश

युवा उद्यमशीलता प्रदर्शनी सम्पन्न

काठमाडौँ । नयाँ उद्यमको विकास र दिगो वृद्घिका लागि सहकार्य भन्ने नाराका साथ देशका सातै प्रदेशमा छरिएर रहेका ४७ नयाँ उद्यमीको प्रदर्शनी करीब एक हजार दर्शकले अवलोकन गर्दै सम्पन्न भएको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र अन्तरप्रेरणा नामक निजी क्षेत्रद्वारा सञ्चालित कम्पनीले संयुक्तरुपमा सोमबार त्रिपुरेश्वरमा आयोजना गरेको एक दिवसीय उक्त प्रदर्शनीमा कृषि, पर्यटन, सूचना प्रविधि, नयाँ परिकार, हस्तकला, निर्माण, स्वास्थ्यसँग सम्बन्धित उद्यमीले आफ्नो उत्पादन, त्यस उत्पादनले नेपाली समाजमा पुग्ने सकारात्मक योगदान र आर्थिक सम्भावना बारे प्रस्तुत गरेका थिए ।

नेपालमै पहिलो पटक आयोजना गरिएको भनेर दाबी गरिएको उक्त प्रदर्शनी ‘स्टार्टअप शोकेस एण्ड एक्स्पो’ नाम दिइएको थियो । उद्यमी र उद्यमशीलताको क्षेत्रमा काम गरिरहेका उद्यमी, लगानीकर्ता लगायत सहभागीले प्रदर्शनीबाट नवीनतम सोच भएका युवा उद्यमीले
सञ्चालन गरेका व्यवसायका बारे एकापसमा जानकारी गराई व्यावसायिक समस्या तथा चुनौतीका बारे छलफल गरेका थिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक आनन्दबहादर श्रेष्ठले मुलुकलाई विकास र समृद्धिमा लैजानका लागि युवा जनशक्तिलाई उत्पादनसँग जोड्नका लागि सीपमूलक विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए ।

अन्तरप्रेरणाका प्रमुख नीरज खनालले सरकारी र निजी क्षेत्रबीच साझेदारीमा सम्पन्न एक्स्पोले स्वदेशमै इलम गरी रोजगार सिर्जना र आय वृद्धि गर्न प्रेरणा प्रदान गरेको बताए। उहाँका अनुसार यस्तो खालको एक्स्पो आगामी दिनमा प्रादेशिकस्तरमा र अन्य जिल्लामा विस्तार गरिँदै जाने जानकारी गराए ।

करीब तीनवर्ष अगाडि स्थापित अन्तरप्रेरणाले देशमा नवीनतम सोच भएका उद्यमी तथा उद्यमशीलतासँग सम्बन्धित सम्पूर्ण प्रक्रियाको विकास, विस्तार र संस्थागत गर्नमा सघाउने उद्देश्य राखेको छ ।