समाचार

चार किलोमा पहिरो ः मुग्लिन सडक एकतर्फी

रत्ननगर, चितवन । चितवनको नारायणगढ —मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा आज बिहान ४ः५५ बजे पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ ।

राति परेको पानीका कारण यहाँ पहिरो खसेको हो । अहिले पनि पानी पर्ने क्रम चितवनमा रोकिएको छैन । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले पहिरो पन्छाउनका लागि स्काभेटर पठाइएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा दुई दिन अघि मात्रै पहिरो खस्दा तीनघण्टा यातायात अवरुद्ध हुन पुगेको थियो । यहाँ पटकपटक पहिरो खस्ने गर्छ ।

अहिले रात्रि गाडीको चाप रहेकाले सो गाडी कटाएर पहिरो पन्छाइने पन्तले बताए । नरायणगढ—मुग्लिन सडकखण्ड चौडा पार्ने काम अहिले अन्तिमतिर पुगे पनि भित्तो काटिएको क्षेत्रमा बेलाबेलामा पहिरो खस्ने गर्छ ।