पर्यटन/संस्कृति

धार्मिक पर्यटनको विकास गरिनुपर्ने : मन्त्री कुशियत

विराटनगर । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले धार्मिक पर्यटन क्षेत्रको उचित व्यवस्थापन गरेमा प्रदेशको आर्थिक समृद्धि कायम हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिद्वारा सोमबार यहाँ आयोजित उद्योग, पर्यटन वन तथा वातावण मन्त्रालयको काम र आगामी कार्य योजना विषयक सञ्चारकर्मी र सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा उनले प्रदेशमा रहेका ३५ वटाभन्दा बढी हिमालयको उचित प्रचारप्रसार गर्नसकेमा विदेशी पर्यटकको कमी नहुने बताए ।

मन्त्री कुशियतले विराटनगरदेखि बर्जुताल, कोशी टप्पु, रामधुनी, चतरा, बराह क्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, भेडेटार, नमस्ते झरना जाने एक करिडोर निर्माण गरेमा छिमेकी मुलुक भारतको पश्चिम बंगाल, विहार, सिक्कीम र बंगलादेशका दशौँ लाख पर्यटकको आगमन प्रदेशमा भई ती मुलुकसँगको व्यापार घाटा कम हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश मन्त्रालयका सचिव किशोरचन्द्र गौतमले प्रदेश नं १ को आव २०७४÷७५ मा सञ्चालित कार्यक्रम र आगामी वर्ष २०७५÷७६ को प्रस्तावित नीति तथा कार्यक्रमको खाका प्रस्तुत गर्दै एक पालिका एक फर्निचर, एक वन एक उद्यम कार्यक्रम सञ्चालन गर्ने भन्दै वैज्ञानिक वन कार्यक्रम सञ्चालन गरी वार्षिक सात लाख क्यूविक काठ उत्पादन गर्ने जानकारी दिए ।

महासंघ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका विज्ञ सल्लाहकार सोम अधिकारी, महासंघका केन्द्रीय सदस्य सवगेन्द्र जवेगु, महासंघ प्रदेश महासचिव विवेक गौतम र महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष यज्ञ शर्माले प्रदेश समृद्धिको आधार, उद्योग, पर्यटन वन तथा वातावरणमा सुधार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सरोकारवालाले वनमा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको पनि अधिकार हुनुपर्ने, १४ जिल्लामा उपभोक्ता सचेतन कार्यक्रम सञ्चालन गर्नुपर्ने आदि सुझाव दिएका थिए ।