देश

जातीय विभेद अझै कायम

बैतडी । विभिन्न अभियानका बाबजुद पनि जातीय विभेद अझै न्यूनीकरण हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

सरकारले जातीय विभेद अन्त्यको घोषणा गरेको १२ वर्ष पूरा भएको अवसरमा सोमबार बैतडीमा गरिएको मिडिया संवाद कार्यक्रमका सहभागीले हरेक सचेत नागरिकले जातीय विभेद अन्त्यको पहल थाल्नुपर्ने बताएका हुन् ।

दलित महिला संघ, बैतडीले आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित सन्चारकर्मीको सहभागिता थियो । दलित महिला संघ बैतडीका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी जोशीले अहिले पनि हरेक ठाउँमा विभेद कायम रहेको बताए । उहाँले हरेक व्यक्तिको मनमा केही न केही कुराप्रति विभेदको भावना हुने भएकाले सबैले आफ्नो सोच परिवर्तन गर्नुपर्ने बताए।

उनले पछिल्लो समयमा जातीय विभेद अन्त्यका लागि मिडियाले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । संघका जिल्ला अध्यक्ष सरस्वती नेपालीले भावी पुस्ताका व्यक्तिले जातीय आन्दोलन गरिरहनु नपर्ने गरी सबैले जातीय विभेदविरुद्ध आवाज उठाउनु पर्ने बताए ।

यस्तै, नागरिक समाज, बैतडीका सचिव करन दयालले सबै जनप्रतिनिधि जातीय विभेदविरुद्धको अभियानमा लाग्नुपर्ने सुझाव दिए । अधिकारकर्मी लामो समयदेखि विभेदविरुद्धको आन्दोलनमा रहेको बताउँदै उहाँले समाजबाट जातीय विभेदको चाँडै अन्त्य हुनुपर्ने बताए ।

कार्यक्रममा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका दलित जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो । सरकारले २०६३ साल जेठ २१ गतेका दिन जातीय विभेद अन्त्य भएको घोषणा गरेको सम्झनामा बैतडीसहित विभिन्न जिल्लामा कार्यक्रम गरेका छन् ।