पर्यटन/संस्कृति

पशुपतिनाथ मन्दिरमा सुनको जलहरि राख्न तयारी शुरु

काठमाडौँँ । विश्व सम्पदा सूचीमा सूचीकृत संसारभर रहेका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्ग मुनिको जलहरि सुनको बनाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोष कार्य सम्पादन समितिले सुनको जलहरि राख्ने निर्णय गरी तयारी थालेको छ । शिवलिङ्ग मुनि हाल चाँदीको जलहरि राखिएको छ । आगामी महाशिवरात्रिसम्म सुनको जलहरि हालिसक्ने गरी काम अघि बढाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

सुनको जलहरि राख्न रु एक अर्ब खर्च लाग्ने कोषको प्रारम्भिक अनुमान छ । यसका लागि हाल कोषसँग रु ६० करोड बजेट छ । बाँकी बजेट भक्तजनसँग दानका लागि आह्वान गरिने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । सुनको जलहरि राख्न सहयोग गर्ने प्रतिबद्धता आउन थालेपछि कोषले सार्वजनिकरुपमा विश्वभर फैलिएका भक्तजनसँग दान गर्न अनुरोध गर्ने तयारी गरेको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०७५/२०७६ का लागि प्रस्ताव गरेको बजेटमा पनि पशुपतिमा सुनको जलहरि राख्न रु ५० लाख बजेट विनियोजन गरिएको कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले सुनाए ।

मूल मन्दिरमा सुनको जलहरि राख्नका लागि निर्माण समितिको पनि गठन गरिएको छ । पशुपतिनाथका मूल पुजारी रावल गणेश भट्टको संयोजकत्वमा गठन गरिएको समितिमा कोषाध्यक्ष डा मिलनकुमार थापा, सञ्चालक परिषद् सदस्यद्वय रमेशराज शिवाकोटी र राजु खत्री, कार्यकारी निर्देशक रमेशकुमार उप्रेती, कोषको संस्कृति महाशाखा प्रमुख निर्देशक भरत मरासिनी सदस्य हुन् । समितिको सदस्य सचिवमा कोषका प्रमुख लेखा अधिकृत प्रेमहरि ढुंगाना रहेको प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले बताए ।

जलहरि राख्नका लागि ९० किलो सुन लाग्ने अनुमान गरिएको छ । हाल रहेको चाँदीको जलहरिमा १८५ किलो राखिएकाले त्यति नै सुन राख्नुपर्ने मत पनि छ । जलहरि बाक्लो बनाउनुपर्ने भएकाले चाँदी जति नै सुन राख्नुपर्ने विषयमा पनि आजै बसेको समिति बैठकमा छलफल भएको छ ।

बैठकले सात दिनभित्र जलहरि निर्माण कार्यविधि बनाउने निर्णय गरेको कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिए । तीन दिनभित्र प्राविधिकलाई अध्ययन गराई जलहरि बनाउन लाग्ने सुनको परिमाण सार्वजनिक गर्ने कोषले जनाएको छ । सुनको जलहरि राख्नका लागि भक्तजनले सुन नै पनि दान गर्न सक्नेछन् ।

पशुपतिनाथलाई ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा पूजिन्छ । पशुपतिनाथलाई आदि ज्योतिर्लिङ्गका रुपमा विभिन्न धार्मिक ग्रन्थमा व्याख्या गरिएको छ । हिमालयको काखमा उत्पत्ति हुनुभएका शिवजीको महत्व शिवपुराण, लिङ्ग पुराणलगायत धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

पशुपतिनाथको मूल मन्दिरको ज्योतिर्लिङ्गको शिरमा सबैको श्रीवृद्धि होस् भन्ने कामनाका साथ दैनिक श्रीयन्त्रको पूजा गरिन्छ । यस्तो ज्योतिर्लिङ्गको पृष्ठभूमिमा सुनको जलहरि स्थापना गरेपछि देश विदेशमा अझ बढी वैभवता फैलने विश्वास गरिएको छ ।

पशुपतिनाथमा आधुनिक कालको शुरुमा राजाकी छोरीले चाँदीको जलहरि निर्माण गराएको विश्वास छ । सुनको जलहरि निर्माणसँगै कोषले पशुपति क्षेत्रका सम्पदाको अभिलेखीकरण पनि शुरु गर्ने जनाएको छ । अभिलेखलाई पुस्तकाकारमा प्रकाशन गरिने जनाइएको छ ।