देश

सडक खन्दै अलपत्र पार्दै

जाजरकोट । जुनीचाँदे गाउँपालिकामा सडक यातायातको पहुँच छैन । उक्त गाउँपालिकाको सिमानासम्म जोड्न १० किमी मात्रै बाटो खन्न बाँकी छ ।

जुनीचाँदे गाउँपालिकाले चालू आर्थिक वर्ष सडक निर्माणमा रु दुई करोड ५० लाख खर्चंदै छ । गाउँपालिका क्षेत्रभित्रका १४ वटा सडक निर्माणका लागि बजेट खर्च हुने भएको हो । बारेकोट गाउँपालिकाको सिमानासम्म सडक पुग्न २० किलोमिटर छ । बारेकोटले पनि गाउँपालिका क्षेत्रभित्रका दुईवटा सडक निर्माणका लागि रु डेढ करोड खर्च गरेको छ ।

त्यस्तै चालू आर्थिक वर्षमा शिवालय गाउँपालिकाले १४ वटा सडक निर्माण तथा स्तरोन्नतिका लागि रु साढे तीन करोड, कुशे गाउँपालिकाले १० वटा सडक निर्माणमा रु तीन करोड, भेरी नगरपालिकाले चार दर्जन सडकका लागि रु साढे पाँच करोड खर्चंदै छ ।

ती गाउँ र नगरपालिकाले चालू आवमा सडक निर्माणमा आधाभन्दा बढी बजेट खर्च पनि गरेका छन् । जिल्लाका बारेकोट गाउँपालिका र जुनीचाँदे गाउँपालिकालाई सडक सञ्जालले छोएको छैन । यिनीहरूमात्र होइन, जिल्लाका सातवटै स्थानीय तहले सडक निर्माणमा मोटो बजेट खर्चंदै आएका छन्  । ती स्थानीय तहले महिला तथा बालबालिका, स्वास्थ्य, कृषि तथा पशु, सूचना सञ्चार, उद्योग, ऊर्जालगायत शीर्षकलाई बेवास्ता गर्दै सडक निर्माणमा मात्र ठूलो बजेट छुट्याएका हुन् ।

चालू आव जस्तै विगतमा दर्जनौँ सडक निर्माण भएका छन्  तर ती सडकमा यातायात सञ्चालन योग्य छैन  । जाजरकोटमा निर्माण भएका आधा दर्जन सडकमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । विगतका वर्षमा विभिन्न निकायबाट निर्माण भएका १०० ग्रामीण सडक प्रयोगविहीन छन् । पछिल्लो समय जाजरकोटका सातवटै स्थानीय तहमा व्यापक मात्रामा सडक निर्माण हुँदै आएका हुन्  ।

यसैगरी सात स्थानीय तहमा १०० भन्दा बढी सडक डोजरले खन्ने काम भइरहेको छ । जाजरकोटमा लाखौँ खर्चेर सडक खन्ने तर १० वर्षसम्म गाडी नगुडाउने प्रचलनको विकास भएको छ । कतिपय सडक प्राविधिक रूपले नक्साङ्कन नगरिनुका साथै वातावरणीय असर तथा सडक निर्माण मापदण्डविपरीत निर्माण भएका छन् ।
“जथाभावी खनेर बनाएका सडकमा बस गुड्ने त परैको कुरा, ट्र्याक्टर र जिपसमेत गुड्न सक्दैनन्”, आचार्यले भने । जाजरकोटमा करोडौँ बजेट खर्चेर निर्माण थालिएका १२१ सडक प्रयोगविहीन छन् ।

निर्माणमा ढिलासुस्ती हुँदा जाजरकोट–पाँचकाटिया–पैंक–ब्याउलीढुंगा–जुम्ला सडक, छेडा–चाँदे–जुम्ला सडक र जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडक अलपत्र छन् ।

डोजरले स्थानीयवासीको रोजगारी खोस्यो

जाजरकोटका सातवटै गाउँ र नगरपालिकामा डोजरले यतिबेला धमाधम सडक खन्ने काम गरेका छन्  । जाजरकोटमा सडक, कुलो, पुलको जग, घरको जगलगायत निर्माण गर्ने काममा डोजरकै प्रयोग हुने गरेको छ । निर्माण कार्य डोजरले गर्न थालेपछि यहाँका स्थानीय बासिन्दा भने बेरोजगार बनेका छन् ।

घरछेउमा सडक बनाउने, कुलो खन्नेलगायत काम गर्ने मौका नपाएपछि बेरोजगार स्थानीय कामको खोजीमा भारतीय श्रमबजार पुग्न बाध्य छन् ।