राजनीति

सरकार गम्भीर नभएको प्रवक्ता शर्माको गम्भीर आरोप

रुकुम । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।

पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका–३ पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरुले यो कुराको पुष्टि गरेको बताए ।

सरकारले प्रस्तुत गरेको बजेट र निर्णयमा केन्द्रीयता लादिएको भन्दै मुख्य मन्त्रीहरुले अभिव्यक्ति दिइरहेको उनको भनाइ थियो । “संघीयता शक्तिको अधिकतम विन्यास हो”,उनले भने, “तर प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरु अहिलेको बजेट र सरकारका निर्णयमा केन्द्रीयता लादिएको अभिव्यक्ति दिइरहेका छन् । ”

सरकारले नारा वायुपंखी घोडाको दिने तर कामको पारा भने बयलगाडाको रहेको टिप्पणी गर्दै प्रवक्ता शर्माले सरकारलाई काँग्रेसले रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिकामा सहयोग गरिरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको भूमिकालाई कमजोर देख्ने र बहुमतको दम्भले जे गरे पनि जे बोले पनि हुने मनःस्थिति पालिरहेमा काँग्रेस कडारुपमा प्रस्तुत हुनेसमेत उनले बताए।

फरक प्रसंगमा प्रवक्ता शर्माले नेपालका सबै कम्युनिष्ट पार्टीलाई संसदीय प्रक्रियाको बाटोमा आउन आग्रह गरे । उनले पाटीभित्र संरचनाहरुको पूर्णता नहुनु, नाकाबन्दीताका खुलेर बोल्न नसक्नु पनि काँग्रेस हारको कारण रहेको चर्चा गरे ।