सूचना प्रविधि

यी जिल्लामा २ बर्षका लागि ‘फ्रि वाईफाई’

काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको छ ।

भूकम्पबाट अति प्रभावित चार जिल्लाका जम्मा ७४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने कम्पनीको योजना अनुसार हाल सम्म ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । आगामी असार मसान्त सम्ममा बाँकी सम्पूर्ण स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप दु्रत गतिमा काम भइरहेको छ ।

समग्रमा हालसम्म २८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १४७ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ ।

जिल्लागत रुपमा हेर्दा सिन्धुपाल्चोकका ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४१ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६२ विद्यालय, काभ्रेपलाञ्चोकका १२६ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०५ विद्यालय, नुवाकोटका ५७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ३६ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६६ विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको छ ।

सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ ।

कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थान अनुसार वाइम्याक्स बेस स्टेशन, थ्रीजी डिभाइस र ईभीडीओ उपकरणको व्यवस्था गरेको छ । यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ । सर्भिस प्वाइन्टमा आवश्यकता अनुसार वाइम्याक्स, जीएसएम, सीडीएमए र एडीएसएल मार्फत इन्टरनेट सुविधा उपलब्ध गराइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ बैशाख २१ मा भएको सम्झौताअनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो ।

यस आयोजना अन्तर्गत नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानमा दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ । साथै सो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्नेछ ।