देश

वैज्ञानिक वनसम्बन्धी तालीम

चौतारा । जंगलका काठलाई कसरी उपयोगमा ल्याउन सकिन्छ भन्ने उद्देश्यले वन अधिकृतहरुको पाँचदिने तालीम चौतारामा सम्पन्न भएको छ ।

बाइस जिल्लाका जिल्ला वन अधिकृतको सहभागिता रहेको सो तालीममा सल्लो जातका काठलाई कसरी उपयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा विज्ञद्वारा वैज्ञानिक परीक्षणसम्बन्धी तालीम प्रदान गरेको हो ।

सिन्धुपाल्चोक सामुदायिक वनको जननी भएको यहाँ रोपिएका सल्लो जातका काठलाई उपयोगमा ल्याउने उद्देश्यले वनक्षेत्रमै गएर वैज्ञानिक परीक्षण शुरु गरिएको जिल्ला वन अधिकृत राजु क्षेत्रीले बताए ।

रोपिएको ३५ वर्षपछि सल्लो रुखको उमेर पुग्ने विज्ञको भनाइ छ । यहाँको सल्लोको उमेर ४६ वर्ष पुगेर पनि खासै उपयोगमा ल्याउन सकिएको छैन । काठमाडौँमा चीन तथा मलेसियालगायतका देशबाट सल्लाको काठ आयात गरी फर्निचर उद्योग सञ्चालन भइरहेका छन् । नजिक भएर पनि यहाँका काठ राजधानी पु¥याउन सकिएको छैन ।

तालीमबाट सल्लाको जंगलको अध्ययन गर्ने र अरु जिल्लामा पनि प्रचार गरी व्यवसाय गर्ने उद्देश्य राखिएको छ । जिल्लामा १३ हजार हेक्टरमा सल्लो तथा २६ हजार हेक्टरमा अन्य जातका वन जंगल रहेको जिल्ला वन कार्यालयले जनाएको छ । सहभागीले १० दिन विभिन्न जिल्लामा गई तालीम तथा वैज्ञानिक परीक्षण गर्ने कार्यक्रम रहेको छ ।