देश

सार्वजनिक काममा महिला सहिभागिता बढ्दो

डडेल्धुरा । गाउँ समाजमा भइरहेका विभिन्न उपभोक्ता समितिले गर्ने सार्वजनिक कार्यमा महिलाको सहभागिता बढिरहेको छ ।

पछिल्लो समयमा उपभोक्ता समितिका काममा महिला सक्रियता देखिने गरेको छ । पुरुष रोजगारीको सिलसिलामा घर बाहिर रहने भएकाले पछिल्ला वर्षमा उपभोक्ता समितिका कामदेखि भौतिक पूर्वाधार निर्माणमा महिला मजदूरको संख्या बढी देखिने गरेको छ ।

डोजर तथा अन्य आधुनिक औजारले हुने निर्माणका काममा बाहेक पर्खाल निर्माण, ढुंगा, गिट्टी, बालुवा ओसारपसारका काममा महिला बढी सक्रिए भएका पाइन्छन् । अहिले वडा, गाउँ, नगर तथा केन्द्रीय सरकारद्वारा चालू आर्थिक वर्षको विनियोजित बजेटअनुसारका काम सम्पन्न गर्न निर्माण धमाधम भएका छन् ।

उपभोक्ता समितिबाट भइरहेका अधिकांश सडक निर्माणमा महिला श्रमिक बढी खटिने गरेका अमरगढी नगरपालिका–५ सेलागाउँका उपभोक्ताले बताएका छन् । डोजरको प्रयोगबाट बनिरहेका सडकबाहेकका काममा महिला श्रमिकले काम गरेका छन् ।

अमरगढी नगरपालिका–७ सिरोला गाउँका महिलाले पोखरा बजारदेखि गाउँसम्मको सडक निर्माण आफैँ गरिरहेको स्थानीय समाजसेवी खडक बोहराले जानकारी दिए । वडा कार्यालयको रु ५० हजारबराबरको रकममा दैनिक ज्यालादारीमा परम्परागत स्रोत साधनको प्रयोग गरी महिलाले सडक निर्माण सम्पन्न गरेको वडा सदस्य भक्त साहुले बताए । झण्डै दुई किलोमिटर लम्बाइ रहेको सो सडक तीन मिटर चौडाइ खनिएको उनले बताए।

दैनिक ४० महिलाको सहभागितामा सडक निर्माण गरिएको कलावती भण्डारीले बताए । कामका लागि सदरमुकाम क्षेत्रमा धाउँदै गरेका महिलालाई सडक निर्माणमा लगाइएपछि गाउँघरमै केही दिन भए पनि ज्यालादारीमा काम गर्न पाउँदा महिला हर्षित भएका छन् ।