सूचना प्रविधि

नेपाल प्रेस युनियनद्वारा आक्रमणको निन्दा

काठमाडौँ । नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि सांघातिक आक्रमण भएको छ ।

गिरीमाथि शनिबार साँझको समयमा मोरङ बेलबारीस्थित घरमै बसेको अवस्थामा विशाल थापा, जगेन गुरुङ र चित्र खड्काको समूहले आक्रमण गरेको हो । आक्रमणमा परेका गिरीको टाउको तथा जीउमा चोट लागेको छ ।

समाचार लेखेकै आधारमा आफूमाथि सांघातिक आक्रमण गरिएको पत्रकार गिरीले बताए । यो घटनाले सार्वजनिक चासोको विषयमा समाचार लेखेपछि सम्बन्धित पक्षले देखाउने असहिष्णु व्यवहारलाई पुनः उजागर गरेको छ ।

नेपाल प्रेस युनियनले आज प्रेस विज्ञप्ति जारी गरी पत्रकार गिरीमाथि भएको आक्रमणको निन्दा गर्दै घटनामा संलग्नहरुलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भयरहित वातावरणमा समाचार संकलन, प्रकाशन र प्रसारणको व्यवस्था मिलाउन स्थानीय प्रशासन र स्थानीय तहका प्रतिनिधिहरुसँग युनियन जोडदार माग गर्दछ । ”