अन्तर्राष्ट्रिय

ट्रम्प किम वार्ताको मुखैमा उत्तर कोरियामा गरियो यस्तो, दक्षिण कोरिया भन्छ– हामी नजिकबाट हेरिरहेका छौँ

सोल । अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ ।

अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण रुपमा लिइएको छ ।

यस चासोका कारण दक्षिण कोरिया पनि चनाखो बनेको बताएको छ । उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदलको प्रभाव के हुन सक्ला भन्ने बारेमा पनि व्यापक मात्रामा परामर्श गरिरहेको छ ।

उत्तर कोरियामा सेना शक्तिशाली हुन्छ । यहाँको सेनाको प्रमुख संरक्षक सर्वोच्च नेता हुने र उहाँको विश्वासपात्र सैनिक प्रमुखमा नियुक्त हुने प्रचलन रही आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले देशका तीनजना उच्चपदस्थ सैन्य अधिकारीलाई केही दिनयता नै पदबाट हटाएर उनीहरुभन्दा तल्लो वरियताका अधिकारीलाई नियुक्त गरेको बताइएको छ ।

पदबाट हटाइएका प्रमुख अधिकारीमा रक्षामन्त्री पाक यङ सिक नै रहेका छन् । साथै उत्तर कोरियाको सेनाको चिफ अफ जनरल स्टाफ पनि हटाउनेमा पर्नुभएको छ ।

त्यसैगरी सेनाको राजनीतिक ब्युरोका प्रमुख पनि यसरी हटाउनेमा परेको खुलेको छ । सैन्य अधिकारीहरूलाई हटाइएको बारेको यो समाचार भने दक्षिण कोरियाली समाचार समिति योनहापले दिएको छ ।

त्यसैगरी जापानी सञ्चारमाध्यमहरुमा पनि यो समाचार आएको र नाम खुलाउन नचाहेका एकजना अमेरिकी रक्षा अधिकारीले पनि त्यसको पुष्टि गरेको बताइएको छ ।

अहिले ल्याइएका सेनाका अधिकारीहरु उत्तर कोरियाली नेता किमका नजिकका सहयोगीका साथै मध्यमार्गी रहेका बताइन्छ ।

तर उनीहरुलाई कहिले र किन हटाइएको हो भन्ने बारेमा भने कुनै पनि समाचार समितिहरुले स्पष्ट रुपमा समाचार सार्वजनिक गर्न सकिरहेका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निशस्त्रीकरणसम्बन्धी वार्ताको तयारीमा रहेका किमलाई अमेरिकासँग वार्ता गर्न नहुने भन्ने आवाज पनि सेना भित्रैबाट उठेको समाचार यस अघि नै आएको थियो ।

सो वार्तामा किमलाई आफ्नो सेनाभित्रबाट त्यसको विरोध हुन सक्ने त्रास रहेको दक्षिण कोरियाली एक उच्च स्रोतले बतायो ।

उत्तर कोरियालीहरूले अमेरिकालाई साम्राज्यवादी शक्ति र उत्तर कोरियाको ‘जन्मजात शत्रु’ समेत भएको भन्दै प्रस्तावित वार्ताको विपक्षमा आवाज पनि दिएका थिए ।

तर पछिल्लो समयमा नेता किम तथा उत्तर कोरियाली सञ्चारमाध्यम पनि आगामी वार्ताका बारेमा र अमेरिकाप्रति पनि केही नरम हुँदै गएको देखिएको छ । सोही बमोजिम नै उत्तर कोरियाले वार्ताको तयारी गरिरहेको बताइएको छ ।

उता राष्ट्रपति ट्रम्पले किमसँगको शिखर बैठक सिंगापुरमा जुन १२ मै हुने बताउदै आउनुभएको छ भने उत्तर कोरियाली नेता किमले पनि सो वार्ताको तयारी बडो चाखपूर्ण रुपमा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा समाचार आएको छ ।

यस्तो अवस्थामा सेनाको एक समूहले नै विरोध वा विद्रोह गर्नसक्ने त्रासले नेता किमले सैनिक नेतृत्वमा व्यापक फेरबदल गरेको हुनसक्ने बताइएको छ ।

तर यस विषयमा उत्तर कोरियाका तर्फबाट स्पष्ट रुपमा केही भनाई आएको छैन । नत दक्षिण कोरियाले नै के कति कारणले ती सैनिक अधिकारीहरु हटाइएका हुन् भन्ने बारेमा केही भनेको छ ।

दक्षिण कोरिया भन्छ– हामी नजिकबाट हेरिरहेका छौँ

उता दक्षिण कोरिया भने यस चासोका कारण चनाखो बनेको बताएको छ । उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदललाई नजिकबाट हेरेको बताएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले भनेको छ– अहिले आएर भएको उत्तर कोरियाभित्रका लागि एक शक्तिशाली सेनाको फेरबदललाई हामीले नजिकबाट हेरेका छौँ ।

यसको प्रभाव आगामी वार्तामा के हुन सक्ला भन्ने बारेमा पनि व्यापक मात्रामा परामर्श गरिरहेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ताले भन्नुभएको छ– हामीले यस घटना र यसको प्रभाव तथा कारणलाई नजिकबाट हेरिरहेका छौँ, एक हिसाबले भन्ने हो भने हामीले अनुगमन नै गरेका छौँ ।

उहाँले आसन्न वार्तामा कुनै असर नपरोस् भन्ने नै दक्षिण कोरियाको चासो हो भन्नुभएको छ ।

दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

यसैबीच सोमबार सोलबाट प्राप्त एक समाचारमा दक्षिण कोरिया र अमेरिकाका विदेश मन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ ।

दक्षिण कोरियाली विदेशमन्त्री काङ ख्योङ्वाले अमेरिकी विदेशमन्त्री माइक पेम्पेओलाई सोमबार बिहान फोन गरेका थिए ।

सिंगापुरमा अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ताको समय नजिकिँदै आएको बेला उक्त फोनवार्ता भएको बताइएको छ ।

दक्षिण कोरियाली विदेशमन्त्री काङ र अमेरिकी विदेशमन्त्री माइक पम्पेओबीच सोमबार बिहान फोनवार्ता भएको र सो वार्तामा उक्त सिंगापुर वार्ताको बारेमा कुराकानी भएको प्राप्त समाचारमा जनाइएको छ ।

आइतबार पुनः उक्त वार्ता समयमै हुने भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी गराएपछि पुनःउहाँहरुबीच त्यसका विषयमा विकसित परिस्थितका बारे फोनवार्ता भएको अनुमान गरिएको छ ।

यस फोनवार्ताको जानकारी दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जानकारी दिएको दक्षिण कोरियाली सरकारी समाचार समिति योनहापले जानकारी दिएको छ ।

अमेरिकी उत्तर कोरियाली उच्च अधिकारी सिंगापुरमा

त्यसैगरी प्राप्त अर्को एक समाचारअनुसार उत्तर कोरियाली र अमेरिकी उच्च अधिकारी सोमबार सिंगापुर पुगेको समाचार छ ।

उत्तर कोरियाली रक्षा विभागका एक उच्च अधिकारी र अमेरिकी विदेश मन्त्रालयका एक अधिकारी सिंगापुर पुगेको जापानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपतिसँगको वार्ताको तयारीका लागि ती अधिकारीहरु सिंगापुर पुगेका जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

यसअघि पनि गतहप्तामात्र उनीहरु वार्ताको पूर्व तयारीको लागि भन्दै सिंगापुर पुगेका थिए । यस पटक त्यहाँ पुगेका अधिकारीहरुले आगामी वार्ताका एजेण्डाका बारेमा सामान्य रुपमा पूर्व तयारी गर्ने र त्यस बारेमा आ आफ्ना देशका शीर्ष नेतृत्वलाई जानकारी गराउने अनुमान गरिएको छ ।

दुई नेताबीचको शिखर वार्ता अघि ती अधिकारीहरुले संयुक्त रुपमा अग्रिम तयारीको अवस्था हेर्ने भएका प्राप्त समाचारमा जनाइएको छ ।

यस शिखर वार्ताको बारेमा सिंगापुरको विदेशमन्त्रालयले समन्वय गरिएको र वार्ताको तयारी पूरा भएको पनि जानकारी दिएको थियो ।

यस वार्ताबारे विश्वमा नै निकै ठूलो चासो फैलिएको छ । विश्वका सञ्चारमाध्यमहरुले वार्ताको समाचार संकलनका लागि आ–आफ्ना प्रतिनिधिहरु सिंगापुर पठाउने तयारी गरिरहेका छन् ।

कतिपय सञ्चारमाध्यमहरुले वार्ताको तयारीको बारेमा सिंगापुरमै पुगेर ‘रिपोर्टिङ्’ गर्न पनि थालिसकेका छन् । यस वार्ताको चासो कोरियाली क्षेत्र र एसियामा मात्र सीमित नभई विश्वव्यापी रुपमा नै रहेको बताइन्छ ।