सूचना प्रविधि

सरकारी सञ्चार माध्यममा विज्ञापनको बक्यौता तत्काल उठाउन

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर वर्षौंसम्म भुक्तानी नदिनेलाई कारवाही गर्न निर्देशन दिएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा उनले नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानका विज्ञापनको बक्यौता उठ्नुपर्ने रकम तत्काल उठाउन र वर्षौंसम्म बेरुजु नराख्न निर्देशन दिएका हुन् ।

मन्त्री बाँस्कोटाले भने, “विज्ञापन दिएर नतिर्नेलाई समयमा काम नगर्ने ठेगदारलाई झैँ पाता फर्काइन्छ । सुशासनमा कुनै सम्झौता हुँदैन । अनुगमनको नाममा छड्के गरेर तस्वीर छपाउने पक्षमा म छैन । त्यो काम प्राविधिक समूहले गर्छ । मलाई कसले कहाँ के गरेको छ, सबै सूचना आएको हुन्छ । मैले गर्नुपर्ने कारवाही टेबुलबाटै गर्छु । गल्ती गरेमा मेरै पार्टी निकट छ भने पनि कारवाही हुन्छ ।”

काठमाडौँ उपत्यकाकै कतिपय स्थानमा नेपाल टेलिकमको टावर नटिप्ने समस्या कायमै रहनु र सूचना विभागको नयाँ डायरी जेठ तेस्रो सातासम्म पनि प्रकाशन नहुनुले कामको प्रभावकारिता नदेखिएको उनले बताए । यसअघि सोही मन्त्रालयमा राज्यमन्त्री हुनुभएका बाँस्कोटा गत शुक्रबार मन्त्रीमा नियुक्त भएका थिए ।

मन्त्री बाँस्कोटालाई सचिव महेन्द्रमान गुरुङ र मातहतका निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।