देश

लिखुका युवाबाट २१ नयाँ उपकरण आविस्कार

नुवाकोट । ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँको युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन् ।

लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण आविस्कार गरेका हुन् ।

उक्त उपकरण लिखु गाँउपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनीसमेत गरिएको छ । अध्ययनको क्रममा सिकेको सीपलाई अभ्यासको माध्यमबाट व्यवहारमा उतार्न सफल भएको क्लबका अध्यक्ष नरेश्वर पाण्डेले जानकारी दिए ।

“बट्टारस्थित शुभेनियर बोर्डिङ स्कूलबाट विसं २०७२ को माध्यमिक शिक्षा परीक्षामा लिखु गाउँपालिकाबाट सहभागी विद्यार्थी मात्र क्बलमा आबद्ध छौँ ।” अध्यक्ष पाण्डेले भने “विद्यालयतह, दश जोड दुई र हाल केन्द्रीय क्याम्पसमा डिप्लोमा इन इञ्जिनियर अध्ययनको क्रममा पाठ्यक्रममा उल्लेखित विषयवस्तुको सहयोगले नयाँ उपकरणको आविस्कार गर्न सफल भएका हौँ  ।”

क्लबमा आबद्ध युवा विद्यार्थीले निर्माण गरेको राति आफैँ बल्ने र दिउँसो  आफैँ निभ्ने बत्ती, सेन्सरमार्फत चल्ने स्वचालित धारो र स्वचालित पानी तान्ने उपकरण, हाइड्रोलिक डोजर, विद्युतीय नियन्त्रक उपकरणलगायतका प्रविधि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ ।

“ड्रोनको निर्माण अन्तिम चरणमा पुगेकाले अब परीक्षणको क्रममा छ तर, सञ्चालन तथा उपयोगको लागि कानूनी समस्याले ढिलाइ भइरहेको छ ।” पाण्डेले भने यो । २१ प्रकारका नयाँ आविस्कार निर्माण गर्न रु पाँच लाख खर्च भएको र त्यसमा केही लिखु गाउँपालिकाको समेत सहयोग छ । “सामग्री खरिदमा धेरै लगानी नहुने भए पनि यसमा मिहेनत खर्चनु पर्र्छ ।” उनले भने ।