साहित्य

सुशासनका लागि साहित्यको पनि भूमिका छः मन्त्री पुन

रोल्पा । संघीय सरकारका ऊर्जा मन्त्री वर्षमान पुनले सुशासन कायम गर्न र संघीय शासनलाई संस्थागत गर्न साहित्यको अहम भूमिका हुने बताएका छन् ।

उक्त कुरा मन्त्री पुनले रोल्पा सदरमुकाम लिवाङमा आजदेखि शुरु भएको बृहत् साहित्य सम्मेलनको उद्घाटनका क्रममा बताएका हुन् ।

कार्यक्रमका अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि पुनले जहाँ सूर्य (रवि) पुग्न सक्दैन त्यहाँ कवि पुग्न सक्ने भएकाले साहित्य क्षेत्रको विकासविना समाजको विकास सम्भव नभएको बताए ।

रोल्पा विगतको जनयुद्धभन्दा अगाडि, जनयुद्धको समय र हाल शान्ति प्रक्रियामा रोल्पा जिल्ला लामो राजनीतिक इतिहास बोकेको जिल्ला भएको र अब यो साहित्यिक हिसाबले अध्ययनको क्षेत्र बनेको बताउँदै रोल्पा आफैँमा साहित्यिक विश्वविद्यालय भएको बताए ।

मन्त्री पुनले समृद्ध रोल्पा, समृद्ध नेपाल निर्माण गर्नका लागि राजनीतिक, साहित्य क्षेत्रबाट योगदान गरेमा मात्रै देश समृद्ध बन्ने बताए । उनले साहित्य समाजको एउटा ऐना भएको बताउँदै समाजको विकृति, विसंगति अभिव्यक्त गर्ने माध्यम साहित्य नै भएको बताए ।
नेपालको नमूना झापाको रिडर गु्रप र पोखराका साहित्यका नमूना कार्यलाई यस जिल्लामा पनि अनुकरण गर्नुपर्ने बताए । उनले रोल्पा जिल्लामा वरिष्ठ साहित्यकारको उपस्थितिले रोल्पाको प्रचारप्रसार हुने बताउँदै देशका सबै साहित्यकारलाई योगदान दिन अनुरोध गरे ।

उनले साहित्य एउटा विश्वविद्यालय भएको बताउँदै रोल्पा राजनीतिक हिसाबले चर्चित भएको एउटा विश्वविद्यालय जस्तै भएको बताए ।

रोल्पा जिल्लामा पर्यटनको निकै सम्भावना भएकाले गर्दा संघीय सरकार, प्रदेश सरकार र स्थानीयको सरकार एवं स्थानीय आम जनताको सहभागितामा रोल्पा बृहत् पर्यटन योजना निर्माण गरी अगाडि बढिने बताए ।

रोल्पा जिल्ला प्राकृतिक र धार्मिक पर्यटनसँगै युद्ध पर्यटनबाट बढी प्रवर्धन गर्न सकिने उनले बताए । कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार नारायण शर्माले यो परिवर्तनका लागि बलिदान गर्ने शहीदका कारण र जनयुद्धका कारणले मात्रै चर्चा भएको सत्य भएको बताउँदै यसको विकास जरुरी भएको बताए ।

उनले रोल्पा जिल्लाको विकासमा सबै साहित्यकार लाग्नुपर्ने बताउँदै साहित्य क्षेत्रको विकासले नै सबै क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । उनले राजनीति र साहित्यको सम्बन्धलाई अझै नजिक बनाएर आमूल परिवर्तनका लागि योगदान दिनका लागि अनुरोध गरे ।

उनले बलिदान र आन्दोलनबाट आएको परिवर्तनलाई संस्थागत गर्नका लागि रोल्पाको नेतृत्व एवं सबै नेतृत्वलाई सुझाव दिएका छन् । रोल्पा नगरपालिकाले आयोजना गरेको उक्त सम्मेलन उद्घाटन कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीमगर, प्रदेश सांसद दीपेन्द्रकुमार पुनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

आईतबारदेखि शुरु भएको बृहत् साहित्य सम्मेलन जेठ २३ गतेसम्म चल्ने बताइएको छ । सम्मेलनमा राष्ट्रिय कविता प्रतियोगितासमेत आयोजना गरिएको छ । प्रतियोगितामा देशभरबाट छनोट भएका १५ कविले रचना वाचन गर्नेछन् ।

यसैगरी, रोल्पाको गुरुङगाउँमा गजल साँझ र माडीचौरमा युद्ध साहित्यबारे विवेचना गरिने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका संयोजक डिबी टुहुरेले जानकारी दिए ।

साहित्यमार्फत जिल्लाको पर्यटन विकास गर्ने उद्देश्यका साथ सञ्चालित सम्मेलनलाई नेपाल पर्यटन विकास बोर्डले प्रवर्धन गरेको छ भने नेपाल टेलिकम, वसन्त चौधरी फाउण्डेसनलगायतले साझेदारी गरेको बताइएको छ ।