शिक्षा

संसदीय अभ्यास नियाल्दै खुशीले दंग भए विद्यार्थी

काठमाडौँ । सुशील थापा आदर्श जनप्रेमी मावि कौशलटारमा कक्षा १० मा अध्ययन गर्छन् । संघीय संसद्को काम कारबाही कसरी सञ्चालन हुन्छ र सांसद संसद्मा कसरी आफ्नो भूमिका निर्वाह गर्छन् भन्ने उनको मनमा जिज्ञासा थियो ।

टेलिभिजनमा मात्रै देखिने सभामुख, उपसभामुख तथा सांसदहरुलाई प्रत्यक्षरुपमा भेट्ने र केही जिज्ञासासमेत राख्ने विद्यार्थी थापाको चाहना आज पूरा भयो । अरु साथीहरुसँगै उनी पनि आज पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद् भवनमा पुगे ।

संघीय संसद्को प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदले धारणा राखेका थिए । बजेटमाथिको छलफल सुनेपछि   विद्यार्थी थापाले भने, पहिलोपटक संसद्मा आउँदा रमाइलो लागेको छ । बजेटले के गर्ने रहेछ भनेर जान्न पाइयो ।

“संसद्को आफ्नै नियम र मर्यादासमेत हुने थाहा पाउँदा आफूहरु पनि विद्यालयमा जिम्मेवार बन्नुपर्ने, अनुशासित हुनुपर्ने सिकेको बताए । बजेटमा खेलकुद र शिक्षा क्षेत्रमा नयाँ कार्यक्रमलाई प्राथमिकता दिएको भए राम्रो हुने थियो भन्ने उनको सुझाव छ । सभामुख कृष्णबहादुर महरा र संसद् सचिवालयका उच्चपदस्थ कर्मचारीसँग सामूहिक तस्वीर पनि खिच्न पाइयो, मेरा लागि यो सबैभन्दा महत्वपूर्ण भयो”, उनले भने ।

कक्षा १० मै पढ्ने अर्का विद्यार्थी ज्वाला श्रेष्ठलाई पनि संघीय संसद् भवनको घुमघाम आफूलाई महत्वपूर्ण लागेको अनुभव सुनाए । सांसदहरुको ज्ञान उनीरुको सीप तथा वक्तव्यकलाको जानकारीसमेत लिन पाइयो, हामीले धेरै कुरा सिक्ने अवसर पायौँ, उनले भने ।

अर्का विद्यार्थी आयुषा राईलाई पनि पहिलो पटक संसद् आएर केही सिक्ने अवसर पाउँदा निकै भाग्यमानी ठानिन् । “बजेटसम्बन्धी छलफल सुन्न र हेर्न पाइयो, टेलिभिजनमा हेर्दाभन्दा प्रत्यक्षरुपमा नै हेर्दाको अनुभव छुट्टै हुने रहेछ”, राईले भनिन् “सांसदहरुको भाषणकला राम्रो लाग्यो, । शिक्षा क्षेत्रमा अलि बढी बजेट छुट्याउनुपर्छ भन्ने मेरो सुझाव छ ।”

“पढ्न नपाउने बच्चाले पनि पढ्न पाउनुपर्छ, देशको विकासका लागि शिक्षा नै उत्तम विकल्प हो भन्ने मलाई लाग्छ”, उनले भनिन् ।

अनुप काफ्ले पनि पहिलो पटक प्रतिनिधिसभाको बैठक हेर्न नयाँ बानेश्वर आएका थिए । उनले भने “रमाइलो लाग्यो तर बजेटसम्बन्धी छलफल हाम्रो तहको नभएकाले केहीले अलिक अल्छि मानेको जस्तो लागेको बताए ।” उनले विद्यार्थीका लागि केकति बजेट छुट्याइएको रहेछ भन्ने जिज्ञासा भएपनि त्यो थाहा पाउन सकिएन, तर शिक्षाका लागि पुग्दो बजेट र राम्रो स्कुलको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने सुझाव उनले सरकारलाई दिए ।

सोही विद्यालयमा कक्षा १२ मा पढ्ने नवीन खत्री चौथो पटक संसद भवन आएका रहेछन् । पहिले संविधानसभाको बैठक हेरेको सुनाउने उनले यसपटक भने बजेटको छलफल हेरे । उनले भने “मलाई त महत्वपूर्ण लाग्यो आजको छलफल । धेरै जान्ने, सिक्ने अवसर पाएँ ।”

कक्षा पाँचमा पढ्दा पहिलो पटक संविधानसभाको बैठक हेर्न आउँदा सानो भनेर मर्यादा पालकले छिर्न दिनुभएको थिएन । तर अहिले भने सजिलै प्रवेश गर्न पाइयो, उनले सुनाए ।

“संसदीय प्रक्रियाको पछिल्लो गतिविधिबारे जानकारी लिन राजनीतिक चेतना अभिवृद्धि गर्ने उपयुक्त थलोका रुपमा मैले आजको भ्रमणलाई लिएको छु”, उनले भने ।

‘राजनीति जनता केन्द्रित तथा जनता नै प्रमुख हुन्’ भन्ने नारालाई व्यावहारिकरुपमा कार्यान्वयन गर्नुपर्ने भन्दै उनले शिक्षित व्यक्ति राजनीतिमा लागेमात्रै राजनीति स्वच्छ, पारदर्शी हुने तथा देशले अपेक्षित विकास हासिल गर्ने उनको भनाइ छ ।

विद्यालयका भाइस प्रिन्सिपल कामेश्वरप्रसाद चौधरी प्रतिनिधिसभाले केकस्तो काम कारबाही गर्दोरहेछ, र विद्यार्थीले पनि सिकेर दैनिक जीवनमा प्रयोग गरुन् भनेर संसद्को अवलोकन भ्रमण गराइएको बताउछन् ।

प्रतिनिधिसभासम्बन्धी विषयलाई शैक्षिक पाठ्यक्रममा पनि समावेश गरिएकाले केही कुरा सिकेर परीक्षामा राम्रो उत्तर लेख्न सकुन् भन्ने उद्देश्यले बैठकको अवलोकनका लागि ल्याइएको उनको भनाइ छ ।

कक्षा १० का ५३ विद्यार्थी प्रतिनिधिसभाको बैठकको अवलोकनका लागि आएका थिए । सो विद्यालयले विगत तीन वर्षदेखि लगातार विद्यार्थीलाई संसदीय गतिविधिको जानकारी गराउँदै आएको छ । संसद्मा आउन पाउँदा विद्यार्थी खुशी भएका छन् भने केही सिक्न पनि पाएका छन् ।

संसदीय गतिविधि हेरेर केही विद्यार्थीले त राजनीतितिर चासो पनि राखेका छन् भने भविष्यमा राजनीतिमा लाग्ने इच्छा देखाएका छन् ।

शिक्षक सरोज गिरी पनि पहिलो पटक विद्यार्थीसँगै संसद्मा आउन पाउँदा खुशीले दंग थिए । उनले भने, “एकदमै खुशी लाग्यो, केही सिक्ने अवसर पाइयो । यस्तो अवसर धेरै विद्यार्थीले पाउनुपर्छ ।”

सभामुख कृष्णबहादुर महरा विद्यार्थीका कुरा सुन्दा आफू विगतमा शिक्षक रहेको स्मरण गरे । उनले संसदीय गतिविधिप्रति विद्यार्थीको चासो नै महत्वपूर्ण रहेको भन्दै क्रमशः धेरैभन्दा धेरै विद्यार्थी सहभागी होउन् भन्ने आफ्नो चाहना रहेको बताए ।

राजनीतिमा लाग्नुभन्दा पहिले शिक्षकसमेत रहनुभएका सभामुख महरा र प्रतिनिधिसभाका कर्मचारी पनि विद्यार्थीसँग अनुभव साट्न पाउँदा खुशी थिए । संघीय संसद् सचिवालयले विद्यार्थीका लागि दर्शक दिर्घामा संसदीय गतिविधि हेर्ने व्यवस्था मिलाएको थियो ।