शिक्षा

प्रारम्भिक बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । प्रारम्भिक बाल स्याहार तथा शिक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौँमा शुरु हुँदैछ ।

शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयको आयोजना र एसिया प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सञ्जालको सहकार्यमा हुन थालेका सो सम्मेलनमा प्रारम्भिक बालविकास तथा शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन गराउने सम्बन्धमा छलफल हुने मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा प्रारम्भिक बालविकाससम्बन्धी विभिन्न देशमा भएका नयाँ अनुसन्धान तथा प्रयोगबारे ज्ञान आदानप्रदान गर्ने, प्रारम्भिक बाल शिक्षा तथा विकाससम्बन्धी विद्यमान नीतिबारे छलफल गर्ने, प्रारम्भिक बालविकासका सरोकारवालाबीच प्रारम्भिक बालविकाससम्बन्धी अभ्यासको समीक्षा गर्ने, बालविकासको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल एंव सम्बन्धलाई सबल बनाउने र प्रारम्भिक बालविकासको क्षेत्रमा भएका प्रगतिको बारेमा समेत छलफल हुनेछ ।

सम्मेलनमा चार देशका शिक्षा तथा स्वास्थमन्त्रीसहित एसिया तथा प्रशान्त क्षेत्रका ४० भन्दा बढी मुलुकका प्रारम्भिक बालबालिकाका क्षेत्रमा काम गर्ने विज्ञको सहभागिता हुनेछ ।

तीन दिनसम्म चल्ने सो सम्मेलनमा स्वदेश र विदेशका गरी करिब ३५० जनाको सहभागिता हुनेछ ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा बालबालिकाको स्वास्थ्य तथा पोषण, उत्तरदायी हेरचाह, प्रारम्भिक सिकाइलगायत विषयमा पनि छलफल गरिने छ ।

सम्मेलनलाई सफल बनाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा विभिन्न समिति बनाइएको छ ।