समाचार

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

रत्ननगर, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा आज अपराह्न पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज अपराह्न ४ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

सडक निर्माण कार्य हुँदै गर्दा एक्कासि सडकमाथिबाट सुख्खा पहिरो खसेको हो । उक्त स्थानमा तीन स्काभेटरको प्रयोग गरेर पहिरो हटाउने काम जारी छ ।

शुरुमा पहिरो खस्ने क्रम नरोकिएकाले केही समय पहिरो हटाउने कार्य सञ्चालन गर्न नसकिएपनि अहिले भने पहिरो हटाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोका कारण चितवनबाट काठमाडौँ, पोखरालगायत ठाउँमा जाने र चितवन आउने सवारी अहिलेबीच बाटो मै रोकिएका छन् ।

बिहान १० बजेदेखि रोकिएका सवारीसमेत जान पाएका छैनन् । यहाँ सडक निर्माण कार्य जारी रहेकाले विहान १० देखि अपराह्न ४ बजेसम्म सवारी रोकिँदै आएको छ ।