आर्थिक

बजेट छलफलः सांसदहरु पक्ष विपक्षमा विभक्त

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमा सांसदहरुले पक्ष विपक्षमा विभक्त भई आफ्नो विचार व्यक्त गरेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरुले पक्ष विपक्षमा आफ्नो धारणा राखेका हुन् ।

विशेष गरी सत्ता पक्षीय सांसदहरुले बजेटको खुलेर समर्थन गरे भने विपक्षी दलका सांसदहरुले बजेट महत्वाकांक्षी रहेको भन्दै कार्यान्वयन जटिल हुने धारणा राखे ।

सांसद बिनाकुमारी श्रेष्ठले कर्णालीमा खाद्य संकट, कर्णाली जनतालाई बैंकसम्मको पहुँच नभएको उल्लेख गर्दै कर्णालीका जनताप्रति सरकारले उपेक्षा गरेको आरोप लगाए ।

सन्तुलित र सुदृढ अर्थतन्त्रका लागि तयार गरिएको बजेटको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

सांसद विमला नेपाली र शान्तिमाया पाख्रिनले आकर्षक नारा तर केन्द्रिकृत बजेट भएको भन्दै टाठाबाठालाई मात्र केन्द्रित गरेकाले गरिब जनता र दुर्गम क्षेत्रका जनतालाई बजेटले सम्बोधन गर्नुपर्ने बताए ।

सांसद सञ्जयकुमार गौतमले शक्तिशाली सरकारले ल्याएको बजेटले अपेक्षित विकास, समृद्धि र न्यायको बाटोलाई तय गर्न नसकेको टिप्पणी गरे ।

सांसद नारदमुनी रानाले बजेटले सुशासन र समृद्धिको दिशालाई अंगिकार गरेको दाबी गरे । सांसद भीमसेनदास प्रधानले संघीयताको मर्मबमोजिम बजेटले नसमेटेको बताए । उनले बजेटमा उल्लेखित आर्थिक वृद्धि महत्वकांक्षी रहेको भन्दै कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ भने ।

सांसद कृष्णभक्त पोखरेलले बजेटले जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गरेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि सबैको सहयोग चाहिने खाँचो औँल्याए । सांसद मीना सुब्बाले लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनतालाई महँगीको मार परेको भन्दै यसलाई तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद विमला विश्वकर्माले प्रभावकारी व्यवस्थापन गरेर बजेट कार्यान्वयनमा जोड दिनुपर्ने, काम नगर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने भन्दै सामाजिक सुरक्षाभत्ताको विविधीकरणमा जोड दिए । सांसद खेमप्रसाद लोहनीले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माण गर्ने लक्ष्यका साथ आगामी आवको बजेट आएको, वास्तविकतामा आधारित रहेको, नेपालको सबै क्षेत्रको विकास गर्ने लक्ष्य राखेको भन्दै सराहना व्यक्त गरे ।

सांसद सूर्यप्रसाद पाठकले सरकारले निर्वाचनका क्रममा व्यक्त गरेको प्रतिबद्धताका आधारमा नै सरकारले बजेट प्रस्तुत गरेको भन्दै प्रतिपक्षी दलले विरोध गर्नुको कुनै तुक नभएको बताए । सांसद केदार सिग्देलले बजेटको गहिराइमा नपुगी हचुवाका भरमा विपक्षीले टिप्पणी गरेको भन्दै यथार्थतालाई नबुझीकन गलत तवरले टिप्पणी गर्ने र विरोधका लागि विरोध गर्ने प्रवृत्ति शतप्रतिशत गलत भएको बताए ।

सांसद रेखा कुमारी र कृष्ण राईले बजेटको व्यावहारिक एवं प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।