पर्यटन/संस्कृति

सगरमाथा आरोही रोशा बस्नेतलाई सम्मान

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले अंग्रेजी शाखाका उपसम्पादक एवं सगरमाथा आरोही रोशा बस्नेतलाई सम्मान गरेको छ ।

राससमा आज आयोजित विशेष सम्मान कार्यक्रममा यही जेठ ९ गते बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल बस्नेतलाई राससका अध्यक्ष कुलचन्द्र वाग्ले तथा महाप्रबन्धक ओपेन्द्र शर्माले सम्मान गरे ।

सो अवसरमा अध्यक्ष वाग्लेले राससको ५७ औँ वर्षको इतिहासमा रासस अंकित लोगो सगरमाथाको शिखरमा पुग्नुमा गौरवको अनूभूति भएको उल्लेख गर्दै राससको इतिहासमा यो सुनौलो इतिहास भएको बताए ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले समाचार समितिबाट सगरमाथा चढ्नु आफैँमा गौरवको कुरा भएको बताउँदै आगामी दिनमा राससलाई सगरमाथाजतिकै उचाइमा पु¥याउने गरी काम गर्न पनि उनलाई शुभकामना दिए ।

राससका नायब महाप्रबन्धक सुरेन्द्र नेपालीले निकै शाहसी मान्छेहरुले मात्र सगरमाथाको सफल आरोहण गर्नसक्ने अनुभव सुनाउँदै आगामी दिनमा थप ऊर्जाका साथ काम गर्न शुभकामना दिए ।

रासस सञ्चालक समितिका सदस्य एकराज पाठक, नेपाल पत्रकार महासंघ रासस शाखाका अध्यक्ष नारायण घिमिरे, रासस कर्मचारी संघका अध्यक्ष मनोज लामिछाने, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष प्रेम उपाध्याय र रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले सगरमाथा आरोहण गरेर वीरताको पहिचान बनाउन सफल भएकामा उनलाई बधाई तथा शुभकामना प्रदान गरे ।

सगरमाथा आरोही बस्नेतले राससको लोगो अंकित ब्यानर सगरमाथाको शिखरमा फहराएका थिए ।

‘समानताका लागि बुलन्द आवाज’ नामक नेपाल पत्रकार महासंघको व्यानरमा पाँच जना महिला पत्रकारहरुले सगरमाथा आरोहणका लागि गएकोमा चार जना मात्र चढ्न सफल भए ।

पत्रकार महिलाहरुको समूहमा बस्नेतसहित रोजिता बज्राचार्य, देउराली चाम्लिङ र कल्पना महर्जन सफल आरोहण गरे। तर समूहमा रहेका प्रियालक्ष्मी कार्की स्वास्थ्य समस्याका कारण आरोहण गर्न सकेनन् ।

सगरमाथा चढ्दाको बस्नेतको अनुभव:

“सगरमाथाको चुचुरोमा पुग्दा मेरो दिमाग शुन्य भएको थियो, मनमा विश्वको सर्वोच्च शिखरमा पुगे भन्ने लाग्यो, मैले राससको लोगो अंकित ब्यानर सगरमाथामा पु¥याउन सफल भएँ”– सगरमाथा आरोहणपछि राससमा आयोजित सम्मान कार्यक्रममा बस्नेतले आफ्नो अनुभव सुनाए ।

सामूहिकरुपमा पत्रकार महिला सगरमाथा चढ्दा पत्रकारिताको पहिचान सर्वोच्च स्थानमा पुगेको अनुभूति आफूले पाएको भनाई उनको छ । “दिनमा आरोहण गर्दा मौसम खराब हुन्थ्यो, रातभरि आरोहण गरियो, आरोहण अवधिमा त्यो हिमाल, अगाडिको साथी, चुचुरोमा पुग्नेबाहेक कुनै सोच आउदैन्थ्यो”, उनले थपे ।

सगरमाथा आरोहणका क्रममा आरोही बस्नेतले बारम्बार भगवान्लाई पुकारिरहन्थे । उनले भने, “फर्कंदा हिलारी स्टेपमा म नराम्ररी पछारिए, भगवान् भएर मेरो गाइड शेर्पाले मलाई उद्धार गरे, मैले भगवान्का रुपमा गाइड शेर्पालाई देखेँ ।”

आरोही बस्नेतको अनुभवमा हिमाल चढ्न जति गाह्रो छ, फर्किन पनि त्यतिकै कठिन छ । साथमा गएका एउटा साथी आरोहण गर्न नसक्दा जति खुशी मनाउनुपर्ने हो, त्यो हुन नसकेकोमा उनले दुःख व्यक्त गरे ।

“आरोहणका क्रममा क्याम्प तीन र चारमा निकै फोहर देखियो, आगामी दिनमा हिमाल सफा राख्ने अभियान चलाउने आफ्नो सोच छ”, उनले भने ।