साहित्य

‘विष्णुचन्द्र अभिनव प्रतिभा’ पुरस्कार गोविन्द नेपाललाई

काठमाडौँ । अभिनव साहित्य समाजले यस वर्षको सर्वोत्कृष्ट गद्य कविता पुरस्कार उदीयमान कवि गोविन्द नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

समाजले शनिबार यस्तो निर्णय गरेको अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले राससलाई जानकारी दिए । सो पुरस्कार समाजको १९६ औँ साहित्यिक शृङ्खलाको अवसर पारेर जेठ २६ गते शनिबार प्रदान गरिनेछ । पुरस्कारको राशि यस वर्षदेखि रु दुई हजार बढाएर रु पाँच हजार पु¥याइएको छ ।

जोरपाटी निवासी श्रीकृष्ण पुडासैनीले आमाबाबुको नाममा रु ६८ हजारको अक्षय कोष राखेर सो पुरस्कार स्थापना गर्नुभएको हो । अक्षय कोषबाट प्रत्येक वर्ष प्राप्त हुने ब्याजले पुरस्कार वितरण गरिन्छ ।

पुरस्कारसँगै सम्मानपत्र पनि दिइने समाजले जनाएको छ । साहित्यिक शृङ्खलाका अवसरमा विशेष कवि गोष्ठी हुने भएकाले छोटा मौलिक रचना लिइ उपस्थित हुन अध्यक्ष घिमिरेले समस्त साहित्यानुरागीमा अनुरोध पनि गरे ।

विसं २०५८ देखि समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।