समाचार

निर्माण व्यवसायीले सडक विभागसँग यस्तो माग गरे !

काठमाडौँ । भूकम्प र नाकाबन्दीका कारण प्रभावित निर्माण आयोजनाको म्याद एक वर्ष थप गर्ने प्रतिबद्धता पूरा नभएको भन्दै थप गर्न निर्माण व्यवसायीले सडक विभागसँग माग गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले आज विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठलाई भेटी निर्माण व्यवसायीका विद्यमान समस्या र समाधानका विषयमा जानकारी गराउँदै म्याद थपिए देशभर सञ्चालनमा रहेका अधिकांश निर्माण आयोजनाको काम समयमै सम्पन्न हुने प्रतिवद्धता व्यक्त गरे ।

महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले पछिल्लो समय निर्माण सामग्रीमा लगातार मूल्यवृद्धि र अभाव भइरहेकोतर्फ महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि ठोस पहल गरिदिन आग्रह गरेको छ ।

सार्वजनिक खरिद ऐन संशोधन हुनुपर्नेमा जोड दिदैं प्रतिनिधिमण्डलले सरकारी निकायबाट आह्वान हुने जुनसुकै बोलपत्रमा अनिवार्य मूल्य समायोजनको व्यवस्था गर्न पनि माग गरेको छ ।

निर्माण आयोजनामा आई राजनीतिक दलका कार्यकर्तालगायत स्थानीयले चन्दा माग गर्ने गरेको र चन्दा नदिए ज्यानै मार्ने जस्तो गम्भीर धम्की दिने समस्याको समाधान गर्नुपर्नेमा प्रतिनिधिमण्डलले जोड दिएका छन् ।

निर्माण सामग्रीमा निरन्तर आगजनी गरी करोडौँको आर्थिक क्षति पु¥याउनेसम्मका क्रियाकलाप भइरहेकाले त्यसलाई रोक्न प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएको महासंघका प्रवक्ता विष्णु बुढाथोकीले राससलाई जानकारी दिए ।

विभागलगायत विभिन्न सार्वजनिक निकायअन्तर्गतका निर्माणसँग सम्बन्धित व्यवसायीले समयमै सम्पन्न गरे पनि बजेट शीर्षकबाट भुक्तानी पाउनुपर्ने झण्डै रु ४० अर्बभन्दा बढी रकम नपाएको उनले बताए ।

विनाबजेट आयोजनाको बोलपत्र आह्वान, कर्मचारीको अनावश्यक सरुवा, सरकारी निकायबीच देखिएको समन्वय अभाव, सडक विस्तारमा अदालतको मुद्दा, मुआब्जाको समस्याजस्ता कारणले पनि काममा समस्या देखिएको महासंघले जनाएको छ ।

जवाफमा महानिर्देशक श्रेष्ठले व्यवसायीका मागप्रति आफू सकारात्मक रहेको बताउँदै निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए ।