सूचना प्रविधि

विज्ञान क्लबका विद्यार्थीले बनाए यस्ता उपकरण !

नुवाकोट । ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँका विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण निर्माण गरेका छन् ।
लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण प्रयोगमा ल्याएका हुन् । उक्त उपकरण लिखु गाउँपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनीमा समेत राखिएको छ ।
अध्ययनका क्रममा सिकेको सीपलाई अभ्यासको माध्यमबाट व्यवहारमा उतार्न सफल भएको क्लबका अध्यक्ष नरेश्वर पाण्डेले जानकारी दिए ।
“बट्टारस्थित शुभेनियर बोर्डिङ स्कूलबाट २०७२ सालको माध्यमिक शिक्षा परीक्षामा लिखु गाउँपालिकाबाट सहभागी विद्यार्थीमात्र क्लबमा आबद्ध छौं ।” अध्यक्ष पाण्डेले भने, “विद्यालय तह, दश जोड दुई र अहिले केन्द्रीय क्याम्पसमा डिप्लोमा इन इञ्जिनियर अध्ययनका क्रममा पाठ्यक्रममा उल्लिखित विषयवस्तुको सहयोगले नयाँ उपकरण बनाउन सफल भएका हौं ।”
राति आफैँ बल्ने र दिउँसो आफैं निभ्ने बत्ती, सेन्सरमार्फत चल्ने स्वचालित धारो र पानी तान्ने उपकरण, हाइड्रोलिक डोजर, विद्युतीय नियन्त्रक अन्य उपकरण दैनिक जीवनमा प्रयोग गरी लाभ लिन सकिने क्लबका उपाध्यक्ष जनार्दन ढकालले जानकारी दिए ।
“ड्रोनको निर्माण अन्तिम चरणमा पुगेको र अब परीक्षणको क्रममा छ तर सञ्चालन तथा उपयोगका लागि कानूनी समस्याले ढिलाइ भइरहेको छ”, ढकालले भने ।
एक्काइस प्रकारका नयाँ आविष्कार निर्माण गर्न रु पाँच लाख खर्च भएको र त्यसमा केही लिखु गाउँपालिकाको समेत सहयोग छ । “सामग्री खरिदमा धेरै लगानी नहुने भए पनि यसमा मेहनत खर्चनु पर्र्छ ।” उनले भने, “ अब हामीले मानिसको दैनिकीमा सहयोग पुग्न ेखालका उपकरण निर्माणमा लाग्ने सोच बनाएका छौँ ।”
क्लबमा आबद्ध विद्यार्थी हाल सुरक्षा प्रणाली, सेन्सर, स्वचालित र रोबर्ट प्रणालीलगायतका उपकरण निर्माणमा जुटेका छन् ।