अन्तर्राष्ट्रिय

क्याटलोनीयाली नेता तोराद्वारा वार्ताका लागि स्पेनी प्रधानमन्त्रीसँग आग्रह

बार्सिलोना, स्पेन । क्याटलोनियाको स्वतन्त्रता पक्षधर नेता क्वीम टोराले शनिबार नयाँ स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजसँग वार्ताका लागि आह्वान गरेका छन् ।

टोराले भने, “प्रधानमन्त्री पेड्रो सान्चेज आउनुस कुरा गरौँ । स्पेन र क्याटलोनियाबीचको तनावलाई सम्बोधन गरौँ । तपाई र हामी मिलेर समस्या समाधानका लागि जोखिम उठाऔँ ।”

स्पेनको राजनीतिमा अनुभवी राजनीतिज्ञका रूपमा मानिने नेता मारियानो रजोएलाई स्पेनी संसदले अविश्वासको मतमार्फत पदमुक्त गरिएपछि नयाँ प्रधानमन्त्रीका रूपमा शुक्रबार सपथ खाएका सान्चेजसँग वार्ता सहज हुने विश्वासका साथ क्याटलोनियाको क्षेत्रीय सरकार प्रमुख तोराले वार्ताको प्रस्ताव गरेका विज्ञहरूले बताएका छन् ।

रजोएले करिब सात बर्ष स्पेनी प्रधानमन्त्रीका रूपमा नेतृत्व सम्हालेका थिए ।

स्पेनी प्रधानमन्त्रीले मड्रिडमा सपथ लिएपछि क्याटलोनियाको स्वतन्त्रताका लागि लड्दै आएको क्षेत्रीय समूहका नेता टोरा नेतृत्वको सरकारले पनि बार्सिलोनामा आजै सपथ लिएको जानकारी क्याटलोनियाली नेताहरूले जानकारी गराएका छन् ।

क्याटलोनियाली जनताले जनमतसंग्रहमा स्पेनबाट पृथक हुनका लागि जनमत दिएको भनी क्याटलोनियाका पूर्व नेता काल्र्स पुज्डमोनको नेतृत्वको सरकार र तत्कालिन क्षेत्रीय संसदले गत वर्ष स्पेनबाट स्वतन्त्र भएको घोषणा गरे पनि केन्द्र सरकारले उक्त निर्णयलाई असंवैधानिक भन्दै मान्यता दिएको थिएन । स्वतन्त्र भएको घोषणासँगै स्पेनको केन्द्र सरकारले क्याटलोनियामाथि प्रत्यक्षरूपमा शासन चलाएको थियो ।

यसै सिलसिलामा क्षेत्रीय सरकारका पूर्व प्रमुख पुज्डमोन लगायतका केही नेता बेल्जियममा पलायन भएका थिए ।

तर पछि डेनमार्कबाट जर्मनी हुँदै बेल्जियम फर्किने क्रममा जर्मनीको राजमार्गमा पक्राउ परेका नेता पुज्डमोनलाई जर्मनीले सुपुर्दगीका लागि आवश्यक प्रक्रिया नपुगेको भन्दै सुपुर्दगी गरिसकेको छैन ।

केन्द्र सरकारको नेतृत्वमा भएको क्षेत्रीय निर्वाचनमा पनि क्याटलोनियाको स्वतन्त्रताको पक्षधर समूहलाई नै बहुमत मिलेपछि अहिले टोराको नेतृत्वमा क्षेत्रीय सरकार गठन भएको छ ।