समाचार

माडीका जनताले उत्पादित सामग्री निकुञ्जबाट ल्याउन पाउने

रत्ननगर, चितवन । दक्षिण चितवनको माडीका जनताले अब तोकिएका सामग्री निकुञ्जबाट ल्याउन पाउने भएका छन् ।

माडी नगरपालिका र स्थानीय जनताको लामो प्रयासपछि चितवन राष्ट्रिय निकुञ्जले माडीबाट तोकिएका सामग्री ल्याउन दिने भएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले निकुञ्ज विभागले तोकेर परिपत्र गरेकाले ती सामग्रीलाई चेकजाँच गरी भरतपुर लैजान दिने जानकारी दिए ।

सो निर्णयसँगै अब माडिका जनताले घरायसी प्रयोजनका लागि निजी जग्गामा उत्पादन भएको निउरो, अमृसो, खरेटो र कुचो निकुञ्जको बाटो हुँदै भरतपुर ल्याउन पाउँछन् ।

यसअघि कुनै पनि चिज ल्याउन पाउने थिएनन् । कुचो, खरेटो २,३ वटा मात्रै र आफ्नै बारीको निउरो दुई मुठा मात्रै ल्याउन दिने निकुञ्जले जनाएको छ ।

यस्तै बाँसका सामग्रीसमेत माडीबाट निकुञ्ज हुँदै भरतपुर ल्याउन दिने गरी विभागले परिपत्र गरेको चितवन निकुञ्जका प्रमुख ढकालले जानकारी दिए । उनका अनुसार तोकिएका सामग्रीबाहेक अरु ल्याउन पाइने छैन ।

घरायसी प्रयोजनका लागि चेकजाँच गरेर मात्रै भरतपुर ल्याउन दिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काद्वारा हस्ताक्षरित परिपत्रमा उल्लेख छ ।

विभागद्वारा पठाइएको परिपत्रमा, बाँसबाट बनेको उत्पादन डोको, नाङलो, डालो, तामालगायत सामान, आफ्नै बारीमा उत्पादन हुने अमृसा, खडेरो आदिको कुचा तीन वटासम्म र आफ्नै बारीमा टिपिएको बढीमा दुई मुठा निउरो लैजान दिने उल्लेख छ ।

‘उल्लेखित विषयमा घरायसी प्रयोजनका लागि नियमानुसार चेकजाँच गरी माडीबाट लैजान पाउने व्यवस्थालाई सरलीकरण गर्न र माडीको स्रोतको अभिलेख दुरुस्त गर्न मध्यवर्ती क्षेत्र उपभोक्ता समितिलाई समेत परिपत्र हुन् ।’ सो पत्रमा उल्लेख छ । माडीका स्थानीय गोविन्द न्यौपाने माडीवासीले निकुञ्जको ऐन संशोधन नगरेसम्म सबै समस्याको हल नहुने बताए ।