स्वास्थ्य

शिविरमार्फत एक हजार बढीले सेवा लिए

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा शुक्रबारदेखि सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर र एकीकृत घुम्ती शिविर शनिबार सम्पन्न भएको छ ।

शिविरमा नागरिकले स्वास्थ्य सेवा लिनुका साथै नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिएका छन् । शिविरमार्फत १८० जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिए । एकीकृत घुम्ती शिविरमा दोगडाकेदार गाउँपालिका–३ का ८० वर्षीय देउडीदेवी नाथले नेपाली नागरिकताको प्रमाणपत्र लिए ।

यस्तै स्वास्थ्य शिविरमा ९९४ जनाले सेवा लिएका छन् । सामाजिक विकास तथा सचेतना समाज स्वदेशको आयोजना, नेपालगञ्ज मेडिकल कलेज, जिल्ला स्वास्थ्य कार्यालय बैतडीको प्राविधिक र प्रदेश सातको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा पाठेघर खसेका महिलाको चेकजाँच, दन्तसेवा, नाककान घाँटी सेवा, जनरल फिजिसियन सेवालगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएको छ । शिविरमा आएकामध्ये १९१ जना महिलाको पाठेघर खसेको पाइएको र १७ जनाको शल्यक्रिया गर्नुपर्ने बैतडीका प्रशासकीय अधिकृत राधिका भट्टले जानकारी दिए ।

पाठेघर खसेका महिलामध्ये शल्यक्रिया गर्नुपर्ने महिलाको निःशुल्करुपमा नेपालगञ्ज मेडिकल कलेजमा शल्यक्रिया गरिने उनले बताए । शिविरमा ३२१ जनाको नाक, कान, घाँटीको उपचार, २२६ जनाको समान्य स्वास्थ्य परीक्षण, १३८ जनालाई दन्तसेवा प्रदान गरिएको थियो ।