समाचार

ढुंगेल रिहाईतिर संकेत गर्दै कानून मन्त्री तामाङ भन्छन् ‘अपराधीलाई ठीक भन्दै रिहाइ गर्ने काम गलत हो’

काठमाडौं । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले द्वन्द्व र हिंसा अन्ततः कतै न कतै गएर समाप्त हुने विषय भएको बताएका छन् ।

उनले मानव अधिकार तथा शान्ति समाज स्थापनाको २२ औँ वर्षको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै इतिहासको कुनै कालखण्डमा कुनै विषयमा हुने यद्ध हिंसात्मक भएपनि त्यस्ता युद्धबाट परिणाम निस्केपछि शान्तिमा रुपान्तरण भएका थुप्रै उदाहरण रहेको बताए ।

मन्त्री तामाङले सङ्क्रमणकालीन न्यायको मर्मलाई आत्मसात गर्दै सरकारले तत्काल सङ्क्रमणकालीन न्यायसबम्न्धी ऐनलाई संशोधन गर्न लागेको बताए ।

कार्यक्रममा मन्त्री तामाङले सरकार विधिको शासनको खिलापमा कहिल्यै नलाग्ने जानकारी दिए ।

राजनीतिज्ञ नीलाम्बर आचार्यले सरकार विधिको शासनको पक्षमा नरहेको आरोप लगाए ।

उनले पूर्व सांसद बालकृष्ण ढुङ्गेलको माफी विधिसम्मत नभएको, सरकारले १० वर्षे जनयुद्ध हिंसात्मक भन्न नसकेको, आफ्ना मान्छे भए चाल चलन असल भएको देखाउँदै रिहाइ गर्ने कार्य कुनै अवस्थामा पनि विधिसम्मत नभएको बताए ।

पूर्वमन्त्री नवीन्द्रराज जोशीले सरकार जनता प्रति जवाफदेही हुन नसकेको, कानूनी राज्यको उपहास गर्दै गएको टिप्पणी गरे ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचन पर्यवेक्षणमा खटिएका पर्यवेक्षकलाई प्रमाणपत्र वितरण गरेका थिए।

त्यसैगरी नेपाली सेनाका सहायक रथी जितबहादुर गुरुङले विपद् व्यवस्थापन विकास निर्माण र शान्ति सेनामा नेपाली सेनाले पु¥याएको योगदानसम्बन्धी वृत्तचित्र प्रदर्शनी गरेका थिए ।
समारोहमा अधिकारकर्मी कृष्ण पहाडीले जनताले अहिले पनि शान्तिको अनुभूति गर्न नपाएको बताए ।