पु.समाचार

सरकारको एकल प्रयासबाट मात्र प्रदूषण नियन्त्रण असम्भव- मन्त्री बस्नेत

काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वातावरण प्रदूषण बढ्दै गएकाले यसको रोकथामका लागि सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने बताएका छन् ।

वन मन्त्रालय तथा वनस्पति विभागको संयुक्त आयोजनामा गोदावरीस्थित वनस्पति विभागको पार्कभित्र वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उनले प्रदूषण रोकथामका लागि निजी क्षेत्र तथा वातावरण चेतना फैल्याउने कार्यमा संलग्न सबै संघसंस्थाको उत्तिकै सहकार्य आवश्यक भएको बताए ।

उनले सरकारले यही जेठ २२ गते नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ घोषणा गर्न लागेको जानकारी पनि दिए ।

मन्त्री वस्नेतले सम्पदाको संरक्षण तथा स्वच्छ हावाको संरक्षण गर्नका लागि सरकारले अहिलेदेखि नै कडा कानून बनाएर व्यवस्थित गर्ने बताए ।

प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले वातावरणको संरक्षण हाम्रो जीवन प्रक्रियाभित्र समावेश गरेर व्यवहारमा उतार्नुपर्ने बताए ।

उनले ललितपुर क्षेत्र नं १ उपत्यकाभित्र रहेर पनि उपेक्षित अवस्थामा रहेको र यहाँका जनताको जीवनस्तर उकास्न सरकारले ध्यान दिनुपर्ने बताए ।

अर्का सांसद् सत्या पहाडीले गोदावरी क्षेत्रमा प्रवेश गर्ने हरेक व्यक्तिले हरियालीको सुन्दरता तथा आनन्दको अनुभूति गर्ने भएकाले यस्ता कार्यक्रम अन्य क्षेत्रमा पनि विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले सन् १८६९ मा विकास भएको प्लाष्टिक अहिले आएर वातावरण प्रदूषणको कारण भएको बताउँदै सन् २००२ मा अष्ट्रेलिया र आयरल्याण्डले प्लाष्टिकजन्य वस्तुको प्रयोगमा कडाई गरेको कार्यक्रम आज ती मुलुकहरुमा निर्मूल जस्तै भएको उदाहरण प्रस्तुत गरे ।

वनस्पति विभागका महानिर्देशक सञ्जिवकुमार राईले वनस्पति विभागले अतिसंकटापन्न अवस्थामा रहेका वनस्पतिको संरक्षण गर्नुका साथै हरित आनन्दको अनुभूति हुने गरी गोदावरीस्थित पार्कको विकास गरेको बताए ।

कार्यक्रममा मन्त्री बस्नेतले संसारकै सबैभन्दा जेठो प्रजातिको गिंको बाइलोबा नामक विरुवा रोपे ।

सोही अवसरमा सभासदहरु, राष्ट्रिय योजना आयोगका सदस्य, वन मन्त्रालयका सचिव, गोदावरी नगरपालिकाका पदाधिकारीहरु, वनस्पति विभागका महानिर्देशकसहित अन्य कर्मचारीले पनि वृक्षरोपण गरे ।

गिंको बाइलोबा नामक उक्त वनस्पति संसारकै जेठो प्रजातिमा पर्दछ । झण्डै २७ करोड वर्षअघि डायनासोर युगमा उत्पत्ति भएको विश्वास गरिएको उक्त वृक्ष धेरै औषधिको गुण रहेको छ । आज उक्त प्रजातिको वनस्पति १५० थान रोपिएको विभागका प्रवक्ता शिशिर पन्थीले जानकारी दिए ।