अन्तर्राष्ट्रिय

जुन १२ को ट्रम्प-किम शिखर वार्ताको प्रतिक्षा

काठमाडौँ । आफ्न नागरिकलाई एकले अर्को देशमा छिर्न पनि नदिने र आफूसँगका शक्तिशाली आणविक अस्त्रले नै एक अर्कोलाई सिध्याइदिनेसम्मका धम्की र व्यवहारको सामना गरीआएका अमेरिका र उत्तर कोरिया बीच हुनलागेको भ्रमणको प्रतिक्षामा यतिखेर विश्व समुदाय नै रहेको छ ।

आजको ठीक १०औँ दिनमा हुनलागेको यस वार्ताले यी दुई देशबीचको कटुतामात्र होइन कि विश्वमा समय समयमा विश्वयुद्ध नै हुने त होइन भन्ने आशंकालाई पनि मेट्ने अपेक्षा गरिएको छ । यद्यपि विश्व समुदायले नै यस वार्तालाई आश्चर्यजनक र अभूतपूर्व भने मानेको छ । तर ती आश्चर्यका बीचमा पनि यो सम्भावनामाथि भरोसा भने धेरैको रहेको देखिन्छ ।

अमेरिकी नागरिक लुकिछिपी उत्तर कोरियाको भ्रमण गरीहाल्यो भने पनि जासूसी गरेको आरोप लगाउँदै उत्तर कोरियाले पक्राउ गरी थुनामा राख्ने तथा अमेरिकाले पनि त्यसै गर्ने गरिएका कटुतामा हालैका महिना दिन यता भने धेरै कमी आएको छ । उत्तर कोरियाको भ्रमण गरेको व्यक्तिले अमेरिकाको प्रवेशाज्ञा पाउन पनि गाह्रो हुने परिस्थितिमा अहिले परिवर्तन आएको छ । किनभने महिना दिन यता यी दुवै देशका उच्च अधिकारीले नै एक अर्को देशको भ्रमण गरिसकेका छन् ।

यसरी पानी बाराबारको अवस्थाबाट परिस्थिति अघि बढी सकेको छ । र यतिखेर आइपुग्दा भने यी दुवै देशका नागरिक जुन १२ को वार्ताको पर्खाइमा देखिएका छन् । दक्षिण कोरियाली नागरिकको झन कुरै भएन । यसले एसियामा सबैभन्दा ठूलो तरंग थपेको छ । किनभने छ रिक्टर वरिपरीको भूकम्प गयो भने उत्तर कोरियाले आणविक परीक्षण गरेर पो हो कि भनेर पहिला दक्षिण कोरिया र जापानमा पक्का गर्नुपर्दथ्यो । अब त्यसमा कमी आउने अथवा त्यस्तो त्रासको अन्त्य हुने पहिलो आशा कोरियालीलाई नै हुनेछ । त्यसले गर्दा पनि जुन १२ को वार्ताको पर्खाइ सबैभन्दा बढी एसियामा थियो ।

गत अप्रिल २७ मा दुई कोरियाबीच एउटा ऐतिहासिक भेटवार्ता भयो उत्तर र दक्षिण कोरियाली नेताबीच । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्ताले विश्वमा नयाँ आशाको सञ्चार गरेको थियो । अकस्मात र अभूतपूर्व सो वार्तामा एक ऐतिहासिक सम्झौता पनि भएको थियो । जसको कारण अमेरिका र उत्तर कोरियाबीचको वार्ताको मार्ग प्रशस्त भएको छ । यसले दक्षिण कोरियालाई मात्र नभएर उत्तर कोरियाप्रति अमेरिकाको पनि विश्वास बढाएको छ । आणविक अस्त्र उत्पादन नगर्ने, परीक्षणस्थल भत्काउने शर्त अमेरिकाले राखेको थियो । जुन कुरा उत्तरले पूरा गरेको छ । यसले आगामी वार्तामा सकारात्मक वातावरण निर्माण गर्न ठूलो सघाउ पु¥याउने अपेक्षा अमेरिकाले गरेको छ । नेताहरु किम जोङ उन र मुन जाय इनबीच भएको सफल वार्तापछि अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा वार्ता हुने बताएको हो । अहिले त्यसको तयारी दुवै तर्फबाट भएको बताइन्छ ।

उत्तर र दक्षिण कोरियाबीच भएको ऐतिहासिक तथा बृहत शान्ति सम्झौतापछि पनि केही नमिठो वातावरणको सम्भावना देखिन थालेको थियो । केही समय अघि उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग प्रस्तावित शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गर्नुुभएको थियो । यस घोषणालाई उत्तर कोरियाले अविश्वास गरेको आरोपसमेत लगायो । पछि उत्तर कोरियाले अमेरिका, चीन, बेलायत, दक्षिण कोरियालगायतका पत्रकारलाई साक्षी राखेर सो पारमाणविक परीक्षणस्थल भत्काएपछि अमेरिकाले धोका दिएको समेत बतायो । तर सन् १९५३ मा दुई कोरिया छुट्टिएपछि पहिलो पटक तथा ऐतिहासिकरुपमा दक्षिण र उत्तर कोरियाबीच राष्ट्रपतिस्तरमा वार्ता भएपछि दुई कोरियाली नागरिक तथा वुद्धिजिवीलगायतले तारिफ गरेका थिए ।

सिङ्गापुरमा हुन गइरहेको अमेरिका र उत्तर कोरियाको यस अभूतपूर्व वार्ताको लागि सिंगापुरमा कैयौँ पत्रकार जम्मा भएका छन् । यस ऐतिहासिक क्षणलाई आफ्नो क्यामारमा कैद गर्न र विश्वभर त्यस वार्ताको ‘कन्टेन्ट’ र भावना फैलाउन सञ्चार माध्यमका प्रतिनिधिले सानो र सुन्दर देश सिंगापुरका होटल बुुकिङ गर्ने काम गरिरहेका छन् । विगतका कैयाँ दशकसम्म पनि विश्व समुदायबाट लगभग अलग्गिएर रहेको देश उत्तर कोरियामा आएको यस परिवर्तनले विश्वलाई नै चकित पारेको छ ।

अहिलेका लागि वार्ता स्थगित भएको भनी अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको इन्कारलगत्तै उत्तरका नेता किमले आफू अमेरिकासँग जुन सुकै समय र जहाँ पनि वार्ताका लागि बस्न तयार रहेको भनी दिएको नरम अभिव्यक्तिको भने संसारले नै प्रशंसा गरेको थियो । आणविक अस्त्रको भाषाले थर्काउने गरेका उत्तरका नेताको यो अभिव्यक्तिपछि भने विश्वले नै अहिले उनको प्रसंशा गरेको छ । वार्ताप्रतिको उनको आतुरताको परिणाम पनि सकारात्मक आयोस भनेर अपेक्षा पनि गरेको छ ।

नेता किमलाई नजिकबाट हेरेका देश दक्षिण, कोरिया, जापान अमेरिकाले पनि उत्तर कोरियाको यस्तो परिवर्तनलाई सकारात्मकरुपमा स्वीकार गरेका छन् । विगतमा विश्वले गरेको अनेकौ उपायको बाबजुत पनि उत्तर कोरियामा नआएको परिवर्तन अहिले आएकोमा विश्व समुदाय पनि खुसी छ । यद्यपि यो वातावरण बिग्रिँदैन भन्नेमा कोही शत प्रतिशत विश्वस्त हुनसक्ने अवस्था भने छैन ।

प्रस्तावित सिंगापुर वार्ताअघि उत्तर र दक्षिण कोरियाको मन्त्रीस्तरको उच्चस्तरीय बैठक भएको छ । यसअघि उत्तर कोरियाले एकतर्फीरुपमा सो वार्ता स्थगित गरेको थियो । साना कुराका निहुँ खोज्ने उत्तर कोरियाको पुरानो बानी स्वरुप दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यासको विरोधगर्दै सो बैठक नबस्ने जनाएको थियो । गत शुक्रबार बसेको सो बैठकपछि पनि परिस्थितिमा सकारात्मक परिवर्तन आएको छ । दुई कोरिया र अझ विश्वको चासो त कोरियाली प्रायद्वीपमा छ ।

गतहप्ता पुनःदुई कोरियाली राष्ट्रपति मुन जाय इन र किम जोङ उनबीच भेटवार्ता भएको थियो । त्यस भेटमा दुई देशको अघिल्लो शान्ति सम्झौताको कार्यान्वयन गर्ने र अमेरिकासँगको उत्तर कोरियाको वार्ताका लागि सकारात्मक वातावरण बनाउने विषयमा सहमति भएको बताइएको थियो । अमेरिकाका कारण प्रस्तावित सिंगापुर वार्ता रोकिने हो कि भन्ने डर भगाउन सो वार्ता भएको थियो । त्यस भेटवार्ताले आगामी वार्ताको बाटोलाई थप सहज बनाइदिएको पाइएको छ । यस वार्तापछि दुई कोरियाली र अमेरिका एवम् एसियाका अरु छिमेकीमा आत्मविश्वास बढेको पाइएको छ ।

उता रुस र उत्तर कोरियाबीच पनि हालैका केही विकासक्रमले विश्वलाई एकातर्फ झस्काएको छ भने अर्कातर्फ वार्तामा झन सहजता थपिने आशा पनि गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उन शिखर वार्ताका लागि रुसी राजधानी मस्को जानुहुने एक समाचार आएको छ भने रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले बिहीबार नै उत्तर कोरियाको भ्रमण गरी उच्चस्तरीय वार्ता गर्नुभएको छ । यसबाट अहिलेलाई त्यस्तो नकारात्मक समाचार केही नआएकोले वार्ताकै वातावरण बनेको र जुन १२ कै पर्खाइमा रुस पनि रहेको भन्न सकिन्छ ।

अमेरिका र उत्तर कोरियाबीच हुने यस वार्ताले कोरियाली प्रायद्वीपमा बर्षौदेखि चलिआएको द्वन्द्व समाधान हुने र पहिले त दुई कोरियामा बस्न बाध्य आफ्नै दाजुभाई दिदीबहिनीबीच मेलमिलापका लागि सघाउने अपेक्षा उनीको छ । र अब यस वार्ताले कोरियाको एकीकरणका लागि पनि सघाउने आशा उनीहरुमा पलाएको छ जुन स्वाभाविक पनि हो । अनि विश्वले पनि कोरियाली प्रायद्वीपमा शान्ति छाएमा विश्वमा नै अस्त्रको होडबाजी हट्छ र सर्वत्र शान्ति फैलिनुका साथै जस्तोसुकै सत्रुताको पनि समाधान वार्ताबाटै गर्न सकिन्छ भन्ने सन्देश पुग्ने छ भनेको छ । त्यसैले सिंगापुर वार्ताको परिणामप्रति विश्व समुदाय नै आतुर छ ।