स्वास्थ्य

वाग्मती सफाइ महाअभियानले प्रभावित बनायो, अरु ९४ स्थानमा पनि सुरु

काठमाडौँ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ९४ स्थानमा सफाइ शुरु भएको छ ।

देशभर भएका सफाइ अभियानबाट २० हजार मेट्रि«क टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । पाँच लाखभन्दा बढी मानिस सफाइमा सहभागी भएका छन् । सफाइ महाअभियानको अनुरोधमा सरकारले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्षसमेत घोषणा गरेको छ ।

वाग्मती सफाइ महाअभियानले २०० हप्ता प्रवेश गरेका अवसरमा सरकारले सरसफाइ घोषणापत्र नै जारी गरेको थियो ।

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३९ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २६४औँ हप्तामा थापाथली क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन भयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाई, ठकुरी समाजलगायत संस्थाका गरी ३७५ भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले राससलाई जानकारी दिए ।

वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह परिचालन गर्दै आएको छ । सफाइमा चीनका लागि नेपाली राजदूत एवं पूर्व मुख्यसचिव लीलामणि पौडेललगायत अभियन्ताको सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२५औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर नगरपालिकाको वडा नं ३ स्थित तारेभिर क्षेत्रको स्यालमतीमा सफाइ गरियो ।

सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गर्ने गरी नदी किनारमा थुपारियो । गत हप्ता र आज सफाइ गरिएको फोहर आइतबार नगरपालिकाले उठाउने सो अवसरमा जानकारी गराइयो । कुहिने फोहर खाडल खनेर पुरियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र आयोजना प्रमुख आशिष घिमिरे, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष राजेन्द्र भण्डारीसहितको समूहसमेत सहभागी भए ।

मुहानबाट नै नदी सफा गर्ने अभियानमा सक्रिय रहने अध्यक्ष बस्नेतले प्रतिबद्धता दोहो¥याए । वडाध्यक्ष भण्डारीले वाग्मतीको मुहानसम्म स्यालमती सफाइ गर्न सहयोग गर्ने बताउनुभयो । आगामी शनिबार २२६औँ हप्ताको सफाइ वाग्मतीको मुहान क्षेत्र सुन्दरीजलमा गरिने अभियन्ता पुडासैनीले बताए ।

सफाइमा वाग्मती सुन्दरता सरोकार मञ्च, पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत स्थानीयवासी गरेर २०० भन्दा बढीको सहभागिता थियो ।

रुद्रमती सफाइको २१९औँ हप्तामा रातोपुल–हिमालय विद्या मन्दिर–भण्डारखालसम्म जनचेतनामूलक सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्व सचिव किशोर थापा, काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायतको सक्रियता थियो ।

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह, केही विद्यालयलगायतको संस्थागत सहभागितासहित २०० भन्दा बढी अभियन्ताको सक्रियता थियो ।

सफाइपछि कमलपोखरीलाई कसरी व्यवस्थित हरभरा बनाउने भन्ने उद्देश्यले अवलोकन गरिएको सफाइ अभियन्ता रोहित गिरीले सुनाए । अवलोकनमा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको पनि सहभागिता थियो ।

अवलोकनका अवसरमा कमलपोखरीमा रहेको महानगर प्रहरी वृत्तलाई अन्यत्र व्यवस्थापन गर्ने, पोखरीमा रंगरोगन गर्ने, वृक्षरोपण गर्ने, पानीको स्वच्छता कायम गरी माछालगायत जलजन्तु बाँच्न सक्ने बनाउनेलगायत विषयमा छलफल भयो ।

विष्णुमती सफाइ अभियानको १९१औँ हप्तामा टोखा नगरपालिकाको वडा नं ९ स्थित सिद्धेश्वर क्षेत्रमा जनचेतनामूलक सफाइ गरियो । विश्व वातावरण दिवसका अवसर पारेर आज विशेष जनचेतनामूलक कार्यक्रम गरिएको अभियन्ता अनिल धरेलले जानकारी दिए ।

टोखा नगरपालिकाको समेत सहभागितामा भएको सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइ अभियान गोङ्गबु बसपार्कमा आएर समापन भएको थियो ।

सफाइमा नेपाली सेना, दुवै प्रहरी संगठनलगायत ३५० भन्दा बढी अभियन्ताको सक्रियता थियो । सफाइमा छ वटा विद्यालयका बालबालिकासहित शिक्षक–शिक्षिकाको पनि सक्रियता थियो ।

मनोहरा नदी सफाइको ६२औँ हप्तामा आज काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित जडीबुटी तरकारी बजार क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले राससलाई जानकारी दिनुभयो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

चक्रपथ सफाइको ६०औँ हप्तामा सिनामंगलबाट तीनकुनेसम्म सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, काठमाडौँ उपत्यका विकास प्राधिकरण लगायत संस्थाका गरी ४५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । आजको सफाइबाट २१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइसँगै चक्रपथको सडक मिचेर किशोर सेकुवा र टायर बनाउन बनाइएको अस्थायी संरचना हटाइएको काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए । दुवैले बेलाबेलामा हटाउने फेरि कब्जा गर्ने गरेका थिए ।

किशोर सेकुवाले मासु पोल्ने स्थानमा छिर्नै नसकिने फोहर रहेको पाइएको उनले बताए । वाग्मतीको तिलगंगा क्षेत्र सफाइ अभियानको १६६औँ हप्ताको कार्यक्रम पनि चक्रपथ सफाइसँगै भएको थियो ।

काठमाडौँ महानगरपालिका वडा नं ३१ स्थित आलोकनगर सफाइको ६०औँ हप्तामा मातृशक्ति सफाइ समूहले जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरेको संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिए । आलोकनगर सफाइ गर्दै जनचेतनामूलक अभियानसहित सिनामंगल क्षेत्रमा पुगेर चक्रपथ सफाइ अभियानमा सहभागी भएको उनले बताए । सफाइबाट एक मेट्रिक टन फोहर उठाइयो ।

चक्रपथ, बाफलखण्ड सफाइको ४२औँ हप्तामा स्युचाटारबाट बाफलचोक क्षेत्रसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । सडकमा फोहर थुपार्नेलाई नै उठाउन लगाइएको सफाइ अभियानले जनाएको छ ।

उपत्यकाका धेरै स्थानमा गत हप्ता उठन नसकेको फोहर आज उठेको छ । केही स्थानमा भने भोलि बिहान फोहर उठ्ने अभियन्ताले जनाएका छन् । गत हप्ता सिस्डोलमा समस्या भएकाले फोहर सडकमै थुपार्न बाध्य हुनुपरेको सफाइ अभियानकर्मीको भनाइ छ ।