देश

गुर्जामा पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा पदमार्ग निर्माण गरिएको छ । गुर्जा, चुरेन र पुठा हिमालले घेरिएको गुर्जामा भ्रमणको लागि जाने पर्यटकको सुविधाको लागि पदमार्ग निर्माण गरिएको हो ।

पैदलयात्रामार्फत लुलाङ हुँदै गुर्जा जाने बाटो अन्तर्गत देउरालीदेखि लत्रबाङसम्म पदमार्ग निर्माण कार्य सम्पन्न भएको वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

पदमार्ग निर्माणका लागि धौलागिरि गाउँपालिका कार्यालयले विनियोजन गरेको रु ११ लाख बजेटमा स्थानीयवासीले श्रमदान समेत गरि पदमार्ग बनाएका हुन् । जंगलमै अस्थायी रुपमा बास बसेर गुर्जाका ५० जना भन्दा बढीलाई परिचालन गरी उक्त पदमार्ग निर्माण गरिएका वडा अध्यक्ष छन्त्यालले जानकारी दिए ।

देउरालीदेखि–फेदीसम्मको ओरालो बाटोमा साँघुरो र पहिरोको कारण पर्यटक र सर्वसाधारणलाई आवतजावत गर्न कठिनाई हुने गरेको थियो । सदरमुकाम बेनीदेखि २६ कोष टाढाको दुरीमा रहेको गुर्जा पुग्न लुलाङदेखि एक दिनभर जंगल र अग्ला पहाडको यात्रा गर्नुपर्छ । यो वर्ष करिब एक किलोमिटर बढी बाटोमा ढुंगाको सिँढी राखेर पदमार्ग बनाइएको पदमार्ग निर्माण समितिका अध्यक्ष गोर्खा छन्त्यालले बताए ।

जंगलभित्र फराकिलो सिँढी चिनेर पदमार्ग निर्माण भएपछि सर्वसाधारणलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम तर्फ आवतजावत गर्न सहज भएको छ भने भ्रमणको लागि पर्यटकको लागि समेत सहजता मिलेको छ । स्थानीयवासीले जंगलभित्र थप एक किलोमिटर बाटोलाई चांैडा बनाउने काम गरेपनि बजेट अभावले सिँढी चिनेर पदमार्ग बनाउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष छन्त्यालको भनाइ छ ।

बाटो अप्ठ्यारो हुँदा पर्यटक समेत हिँड्न नसक्ने समस्या रहेको कारण बाँकी ठाउँमा समेत पदमार्ग निर्माणको लागि गाउँपालिकामा थप बजेटको माग गरिएको गुर्जाका स्थानीयवासी प्रेमप्रसाद छन्त्यालले जानकारी दिए । ‘‘ हामी कत्ति पनि बजेटलाई दुरुपयोग नगरिकन काम गछौँ, जिल्लाकै सबैभन्दा टाढाको रुपमा रहेकाले पनि गुर्जालाई विशेष खालका कार्यक्रममार्फत विकासले जोड्नुपर्छ,’’– उनले भने ।

ढोरपाटन शिकार आरक्ष क्षेत्रले समेत समेटिएको गुर्जादेखि–रुघाचौर सम्मको पदमार्ग समेत यसैवर्ष निर्माण गरिएको छ । गाउँपालिका कार्यालयबाट विनियोजन भएको रु १५ लाख बजेटबाट ढोरपाटन तर्फ जाने उक्त बाटोमा अप्ठ्यारो ठाउँमा फराकिलो बनाउने, ढुंगा चिनेर सिँढी निर्माण गर्ने काम गरिएको वडा अध्यक्ष छन्त्यालले जानकारी दिए ।

यस पदमार्गमा जंगल र भिरको बाटोमा करिब पाँच किलोमिटर पदमार्गलाई फराकिलो बनाउने र मर्मत गर्ने काम गरिएको छ । हिमाल र डाँडाकाँडाले घेरिएको लुकेको गाउँको रुपमा चिनिने गुर्जालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पदमार्ग निर्माण, होमस्टे सञ्चालनसँगै प्रचारप्रसार र कला संस्कृति संरक्षणको काम समेत भइरहेको छ ।