समाचार

नगर प्रोफाइल निर्माण शुरु

भक्तपुर । सूर्यविनायक नगरपालिकाले व्यक्ति–व्यक्तिको सम्पूर्ण विवरणसहितको नगर प्रोफाइल निर्माण शुरु गरेको छ ।

सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित प्रतिनिधिसभा सदस्य, एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले आफ्नै घरबाट नगर प्रोफाइलको तथ्यांक संकलन भएपछि सो अभियानको शुभारम्भ गरिएको हो ।

सांसद बस्नेतले नगरपालिकाको विकासका लागि यो प्रोफाइल कोशेढुङ्गासावित हुने बताउँदै प्रोफाइल हेर्नासाथ सूर्यविनायकको विगतदेखि भविष्यसमेत देख्न सकिने भएकाले विकासका लागि यो प्रभावकारी हुने विचार व्यक्त गरे ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरवासीको सम्पूर्ण विवरण ऐनाजस्तै देखिने भएकाले घर घरमा गएर व्यक्ति–व्यक्तिको प्रोफाइल तयार गरिने बताए।
नगरपालिकाका १० वटै वडाध्यक्षको घर घरबाट शुरु भएको तथ्यांक संकलन कार्य सबै वडाका घर घरमा पुगेर संकलन गरिने उनले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमल्सिनाले घर, टोल, व्यवसाय, शिक्षा, रोजगारी, कृषि, प्रविधि, स्वास्थ्य, सहकारी, पशु, सवारी साधन, जग्गा, लालपूर्जा, नागरिकता, व्यक्तिको जन्म, मृत्यु, विवाह, बसाइँ सराइलगायत घरको तस्वीर र नक्सासमेत रहने गरी सम्पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्दै यसलाई दैनिक अपडेट गर्ने व्यवस्था गरिएको बताए ।

ड्रोन क्यामराको माध्यमबाट नगरपालिकाको सिंगो डिजिटल नक्सा लिएर थ्रिडी इमेजसहितको नक्सा तयार पारिने, कुन र कसको घर कति डिग्रीमा छ, घर कहाँ पर्छ भन्नेसम्मको सिंगो नगरपालिकाको चित्र आउने गरी प्रोफाइल तयार पारिने भएको प्रशासकीय अधिकृत तिमल्सिनाले बताए ।

यसका लागि नगरपालिकाले तीन दिनको तालीम सञ्चालन गर्दै ४० जना स्वयंसेवक परिचालन गरेको छ । परिचालित स्वयंसेवकले घर घरमा पुगेर तस्वीर, भिडियोसहितको तथ्यांक संकलन गर्नेछन् ।