देश

सगरमाथा आरोही महिला पत्रकार सम्मानित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आह्वान गरे । उनले भने, “एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ ।”

हिमाल आरोहणमा कहिले पनि लापर्वाही गर्न नहुने उनका भनाइ थिए । “हिमाल आरोहणलाई मजाकको विषय बनाउनु हुँदैन, स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु हुँदैन, स्वास्थ्य ठीक भएपछि वा जोखिम घटेपछि पुनःआरोहणको प्रयास गर्नुपर्छ, सफलता पाइन्छ,”, उनले भने ।

उनले आफूलाई सगरमाथा आरोहणको रहर भए पनि युवावस्थामा राजनीति गर्दा भूमिगत बस्नुपरेको कारण स्वास्थ्य स्थिति नाजुक भई चढ्न नसकेको बताए। “मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो, भूमिगत जीवन, जेल जीवनले पाइन, जब जेलबाट छुटेँ, पछि कमजोर स्वास्थ्यले दिएन”, प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेकपाका महासचिव विष्णुप्रसाद पौडेललगायतले पनि उनीहरुलाई सम्मान गरेका थिए । सफल आरोही पत्रकारमा रोजिता बुद्धाचार्य, रोशा बस्नेत, देउराली चाम्लिङ र कल्पना महर्जन हुन् । प्रियालक्ष्मी कार्की भने स्वास्थ्यको कारणले सात हजार मिटरबाट फर्केका थिए ।