शिक्षा

मापदण्डविना सञ्चालित संस्थागत विद्यालयलाई कारवाही

नेपालगञ्ज  । बाँकेको डुडुवा गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालित दुईसंस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ ।

वडा नं २ बेताहनीको राप्ती इंग्लिस मिडियम बोर्डिङ स्कूल नौरीगौडी र एकेडेमी इंग्लिस मिडियम बोर्डिङ स्कूलले अनुमतिविना सञ्चालन गरेको कक्षा खारेज गरेको हो । अनुमतिविना राप्तीले कक्षा ३, ४ र ५ तथा एकेडेमीले कक्षा २, ३, ४ र ५ लाई खारेज गरी बन्द गर्ने निर्णय गरेका छन् । गाउँ शिक्षा समितिको शुक्रबार बसेको बैठकले अनुमतिविना सञ्चालित स्कूललाई कक्षा सञ्चालन बन्द गर्ने निर्णय गरेको हो ।

शुरुमा स्पष्टीकरण माग गरिएको र पछि अनुमतिविना सञ्चालन भइरहेकाले नियमन गर्न कारवाही गरिएको गाउँपालिका अध्यक्ष तथा समितिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । गाउँपालिकामा अहिले १० संस्थागत विद्यालय छन् । गाउँपालिकाअन्तर्गत सञ्चालित विद्यालयको अनुगमनका क्रममा नियम तथा मापदण्ड विपरीत सञ्चालित विद्यालयलाई नियमन गर्न शुरु गरिएको गाउँपालिका शिक्षा शाखा अधिकृत खगेन्द्र मल्लले बताए । उनले ती विद्यालयलाई एक वर्षसम्म अनुमतिसमेत नदिने निर्णय भएको बताए।

गाउँपालिकाका सम्पूर्ण विद्यालयको शिक्षाको गुणस्तर, शैक्षिक व्यवस्थापन तथा प्रभावकारितालगायत विषयमा नियमित अनुगमन गरी कडाइका साथ अघि बढिरहेको गाउँपालिकाले जनाएकोे छ । गाउँपालिकाले शिक्षक नियमितता तथा शिक्षाको गुणस्तरीयताका लागि सामुदायिक विद्यालयमा इ–हाजिरी मेशिनसमेत जडान गरेको  छ ।