स्वास्थ्य

उत्प्रेरणा परियोजना सञ्चालन गर्ने चार स्वास्थ्यचौकी पुरस्कृत

इलाम । २०१७ मा हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गर्ने यहाँका चार स्वास्थ्यचौकीलाई करुणा फाउण्डेशन नेपाल इलामले शुक्रबार पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा फाकफोकथुम गाउँपालिकाको लुम्दे स्वास्थ्यचौकी, माई नगरपालिकाको महमाई स्वास्थ्यचौकी तथा माईजोगमाई गाउँपालिकाका नामसालिङ र जोगमाई स्वास्थ्यचौकी छन् । तिनलाई रु २० हजारका दरले पुरस्कार र सम्मानपत्र दिइयो ।

सन् २०१७ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा फाउण्डेशनका कार्यक्रम व्यवस्थापक अजित योञ्जन, उपनिर्देशक योगेन्द्र गिरी र जिल्ला समन्वय अधिकारी झरेन्द्र चापागाईंले पुरस्कार तथा सम्मानपत्र प्रदान गरे ।

सन् २०१५ देखि हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गरेर अपांगता रोकथाम तथा पुनःस्थापना र सुरक्षित मातृत्वसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम अधिकृत प्रदीप अधिकारीले बताए । यसअघि सन् २०१६ मा उत्कृष्ट कार्य गर्ने आमचोक, चमैता, इरौँटार र जमुना स्वास्थ्यचौकीलाई समेत पुरस्कृत गरिएको थियो ।

चार सय अठहत्तरलाई नागरिकता

माङसेबुङ गाउँपालिकामा सञ्चालिते घुम्ती शिविरमा ४७८ जनाले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित शिविरमा नागरिकता र अपांगता परिचयपत्र वितरण तथा माटो र स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा तीन जनालाई रातो, १० जनालाई नीलो, आठ जनालाई पहेँलो र एक जनालाई रातो अपांगता परिचयपत्र वितरण गरिएको थियो । शिविरमा ५०० जनाको आँखा, कान र स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा कृषि र पशुसेवाको सुविधासमेत दिइएको थियो । दुई दिनसम्म सञ्चालित शिविरबाट एक हजारभन्दा बढीले सेवा पाएको जिल्ला प्रशासन कार्यालयका नासु लक्ष्मण पाण्डेले बताए ।

घुम्ती टोलीले एक साताअघि सन्दकपुर गाउँपालिकाको मावुमा सञ्चालन गरेको घुम्ती शिविरमा ३२७ जनाले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका थिए । ग्रामीण क्षेत्रबाट नागरिकता बनाउन नसक्ने र आर्थिक स्थिति कमजोर भएका व्यक्तिका लागि घुम्ती शिविरबाट राहत पुगेको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदङ्गिोले बताए ।