देश

बस दुर्घटनामा मृत्यु हुने थप एकको सनाखत

पाल्पा । रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएकामध्ये थप एक जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार सनाखत हुनेमा तानसेन नपा–३ का प्रभाष वज्राचार्य रहेको प्रहरीले जनाएको छ । यसअघि मृतक १२ जनाको सनाखत भइसकेको छ । रामपुरको अध्ययन अवलोकन भ्रमणमा निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली चढेको लु२ख ९७५ नं को बस आज बिहान दुर्घटनामा परेको थियो ।

यसैबीच सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । शुक्रबार पहिरो खसेको स्थान हेडबक्स नजिकै पैदल हिँड्दै गरेका पाल्पा मस्यामका मोहन रेश्मीको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धबाबामा बिहान करीब ३ बजे पहिरो खसेको थियो । चार जनाको समूहमा बुटवलतर्फ आउँदै गरेकामध्ये रेश्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । सिद्धबाबामा पहिरो जाँदा बुटवल –तानसेन सडकखण्ड अवरुद्ध भएको छ । सो स्थानमा पानी पर्नासाथ पहिरो जान्छ । अहिले सडक खुलाउने काम भइरहे पनि पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको बताइएको छ ।