समाचार

‘समाजवाद ल्याउनेतर्फ कार्यक्रम उन्मुख हुन आवश्यक’

काठमाडौँ । राष्ट्रियसभामा आव २०७५/७६ र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा ४९ जना सदस्यले भाग लिएका छन् ।

राष्ट्रियसभामा आज बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले निकै बहस र छलफल भएर समाजवाद उन्मुख भन्ने शब्द संविधानमा नेपाली काँग्रेसको सहमतिमा ल्याएको स्मरण गराउँदै बहुदलीय प्रतिस्पर्धाका आधारमा शान्तिपूर्ण तरिकाले समाजवाद ल्याउनेतर्फ कार्यक्रम उन्मुख हुन आवश्यक छ भने । “निजी क्षेत्रप्रतिको दृष्टिकोण गलत छ, आयोजनाको प्राथमिकीकरण स्पष्ट छैन, आठ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्ने सम्भावना देखिन्न ”, उनले भने ।

नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले पुराना र नयाँ योजना सम्पन्न गर्नुपर्ने बीचको ढङ्गबाट बजेट आएको बताए । “आर्थिक ढङ्गबाट पनि संघीयता कार्यान्वयन गर्न कुल बजेटको ३३ प्रतिशत बजेट प्रदेश र स्थानीय तहमा बजेट गएको छ, सर्वसाधारणमा सार्वजनिक सेवा सहज पु¥याउने उद्देश्यले आएको छ,सामान्य, समपूरक, सशर्त र विशेष अनुदानको व्यवस्था गरेर ल्याइएको बजेट सघीयताको धरातलको जगमा टेकेर ल्याइएको छ”, उनले भने ।

सोही दलका परशुराम मेघी गुरुङले प्राविधिक शिक्षा, सीमा क्षेत्रका जनताको समृद्धि, ज्येष्ठ नागरिकका लागि बीमा र ठूला अस्पतालमा बेग्लै कक्ष, ऊर्जा र द्र्रुतमार्गजस्ता सानादेखि ठूला कार्यक्रम समेटिएकाले प्राथमिकीकरण दिने ढंगबाट बजेट आएको बताए ।

सांसद रामलखन चमारले बजेट राम्रो र उत्कृष्ट भएको जनाउँदै स्वागत र समर्थन गरे । सांसद नैनकला ओझाले बजेट बाँडफाँट गर्दा कहीकतै धेरथोर हुन सक्छ तर समग्रमा बजेट मुलुकको अर्थतन्त्र र जनताको भावनाको कसीमा आएको छ भने ।

सांसद नन्दा चपाईले निर्वाचन क्षेत्र विकास कार्यक्रमबारे धारणा राख्ने कतिपय सांसदले आफूलाई वडाध्यक्षका रुपमा राखियो भन्ने खालका अभिव्यक्तिले वडाध्यक्षको मारमर्दन भएको हुँदा त्यस्तो अभिव्यक्ति फिर्ता लिन आग्रह गरे । सांसद सिंहबहादुर विश्वकर्माले जनताको पक्षमा आएको बजेट कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताए । बजेटमाथिको छलफल सकिएको छ ।