आर्थिक

सवल र समृद्ध प्रदेश बनाउने बजेट ल्याउनुपर्नेमा जोड

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा बोल्ने अधिकाँश सदस्यले आगामी बजेट सवल र समृद्ध प्रदेश बनाउने गरी आउनुपर्नेमा जोड दिएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७५/७६ को बजेट तयारी सन्दर्भमा बिहीबार प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता सम्बन्धमा छलफलमा भाग लिँदै उनीहरुले जनताका भावनालाई समेट्ने गरी बजेट ल्याइनुपर्नेमा जोड दिए ।

आर्थिक मामिला तथा योजनामन्त्रीले प्रस्तुत गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकताका सैद्धान्तिक पक्ष राम्रो भएको बताउँदै प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले प्रस्तुत गरिएका सिद्धान्त र प्राथमिकताका आधारमा आउने बजेट प्रदेशलाई समृद्ध बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले प्रदेशको विकास सबैको साझा सरोकारका विषय भएकाले सरकारले कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गर्न नहुने बताए ।

सरकारले विकासमा प्रतिपक्षलाई सँगै लिएर अघि बढ्नुपर्ने बताउँदै उहाँले प्रदेशको समृद्धि र विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्छ भने।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले यस अघिको बजेटमा पर्यटनलाई पहिलो प्राथमिकतामा राखिएको भए पनि अहिले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्तमा यो चांैथो प्राथमिकतामा परेको सम्बन्धमा स्पष्ट पार्न आग्रह गरे ।

प्रदेशसभा सदस्य राजिव पहारीले सिद्धान्त र प्राथमिकताले प्रदेशको विकासका लागि स्पष्ट मार्गचित्र देखाएको बताउँदै यसको सफल कार्यान्वयन आवश्यक भएकोमा जोड दिए ।

बैठकमा प्रदेशसभा सदस्य दीपक कोइराला, हरिशरण आचार्य, रामजी बराल९जीवन०, पियारी थापा, धनमाया पोखरेल लामा, धनञ्जय दवाडी, सरिता गुरुङ, प्रभा कोइराला लगायतले उद्यमशिलताको विकासका साथै समाजका प्रत्येक वर्ग र समूदायका हितमा बजेट आउनुपर्ने धारणा राखे ।

प्रदेश सभाको अर्को बैठक आगामी जेठ २१ गते दिनको १:०० बजे बस्नेछ ।