समाचार

बाढीपीडितलाई राहत वितरण

कलैया । जिल्ला दैवी प्रकोप उद्धार समन्वय समिति बाराले बाढीपीडितलाई रु दुई करोड २९ लाख ५० हजार राहत वितरण गरेको छ ।

बाढीबाट अंगभंग भएका, घाइते भएका, विस्थापित भएका र मृत्युसमेत भएकाहरुलाई सो रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ साल भदौ महिनामा परेको अविरल वर्षासँगै आएको विनाशकारी बाढीबाट जिल्लाका विभिन्न ठाउँमा करीब एक हजार २११ घरधुरीभन्दा बढी प्रभावित भएका थिए । उक्त बाढीमा परी दुईजनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी केशरीले भने ।

राहत स्वरुप सरकारले रु तीन करोड छ लाख ७५ हजार उपलब्ध गराएकोमा जिल्लाभरिमा ९०२ घरधुरीलाई रु २५ हजारका दरले रु दुई करोड २५ लाख ५० हजार प्रदान गरिएको हो । त्यसैगरी मृतकलाई रु दुई लाखको दरले रु चार लाख परिवारका सदस्यलाई प्रदान गरेको थियो ।

राहत लिन बाँकी रहेका ३०९ जनालाई आव २०७५/७६ को असार मसान्तसम्म रु ७७ लाख २५ हजार प्रदान गरिसक्ने सहायक प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिए ।