समाचार

बाढी पीडितसँग रकम असुल्नेमाथि कारवाहीको माग

विराटनगर । जनताको सेवा गर्छु भनेर जनताको मतबाट विजयी बनेका जनप्रतिनिधिले नै बाढी पीडितसँग रकम असुल्न थालेपछि कसको के लाग्छ र ?

मोरङ रंगेली नगरपालिका– ४ का बाढीपीडितले यस्तो गुणासो गरेका हुन् ।

पीडितद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सोही नगरपालिका–४ का वडाध्यक्ष गोविन्दा मण्डलले आफूहरुसंग बाढीपीडितका लागि राहतस्वरुप आएको रकम उपलब्ध गराएवापत केहि रकम मागेको गुणासो व्यक्त गरें ।

गएको वर्षमा बाढीबाट पीडित भएका परिवारलाई सरकारले प्रतिपरिवार रु २५ हजार उपलब्ध गराएकोमा पीडितबाट वडाध्यक्षले परिवार हेरी रकम असुलेको र कसैलाई भनेमा अब आउने राहत रु ५० हजार नदिने भन्दै रकम असुलेको पीडित जुलाई मण्डलले जानकारी दिए। उनले आफूसँग रु पाँच हजार वडाध्यक्षले लिएको पनि बताए ।

यसैगरी, पीडित भूपेन्द्र क्रिषिदेवसँग रु ५००, सुनिता देवी क्रृषिदेवसँग रु सात हजार र पारोदेवी क्रृषिदेवसँग रु दुई हजार असुलेको सो अवसरमा बताए ।

जनप्रतिनिधिले जनताको पक्षबाट वकालत गर्नु पर्नेमा उल्टै भ्रष्ट आचरण देखाउने यस्ता जनप्रतिनिधिलाई सत्यतथ्य पत्ता लगाई कडा कारवाहीका लागि पहल गरिदिनहुन पीडित अवधेश मण्डलले पत्रकारसंग आग्रह गरे ।