समाचार

फोटो पत्रकारको भेलाद्वारा नौ बुँदे चितवन घोषणापत्र जारी

रत्ननगर । नेपाल फोटो पत्रकार महासंघको राष्ट्रिय भेला नौ बुँदे चितवन घोषणापत्र जारी गर्दै सकिएको छ ।

सौराहामा सम्पन्न भेलाले लोकतन्त्रको संस्थागत विकास तथा राष्ट्र निर्माणमा फोटो पत्रकारले महत्वपूर्ण योगदान गर्ने निष्कर्षसहित सो घोषणापत्र जारी गरिएको हो ।

यही जेठ १६ र १७ गते भएको भेलापछि आज सार्वजनिक घोषणापत्रमा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सहयोग गर्ने उल्लेख छ ।

देशभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारलाई नेपाल फोटो पत्रकार महासंघमा गोलबद्ध गर्न पहल गर्ने र सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालीम सञ्चालन गर्ने घोषणापत्रमा जनाइएको छ ।

फोटो पत्रकारको हकहितका लागि आवाज उठाउँदै जीवन बीमा तथा उपकरण बीमाका लागि पहल गर्नेसमेत भेलाले निष्कर्ष निकालेको अध्यक्ष ध्रुव आलेले जानकारी दिए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सदैव तत्पर रहने र संघीय संरचनाअनुसार महासंघलाई पनि रुपान्तरण गर्दै लैजाने निष्कर्ष निकालेको छ ।

संविधानले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रुपमा व्यवस्था गरे पनि त्यसको पूर्णरुपमा प्रयोग गर्न पत्रकार र आमनागरिकले नपाएकाले यसप्रति सरकारको ध्यानाकर्षण गराइएको महासंघका कोषाध्यक्ष रत्न श्रेष्ठले जानकारी दिए ।

अहिले पनि समाचारका लागि फोटो खिच्न गएका फोटो पत्रकारलाई धम्की दिने, आक्रमण गर्ने क्रम जारी रहेको भन्दै महासंघले दुःख व्यक्त गरेको छ ।

भेलामा ३२ जिल्लाबाट ५० जना फोटो पत्रकार सहभागी थिए । भेलाको बिहीबार गृहमन्त्री रामबहादुर थापाले शुभारम्भ गरेका थिए ।