देश

हराएका चार नेपाली बालकको भारतबाट उद्धार

गुलरिया, बर्दिया । भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहवाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई हिजो उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले बताएका छन्।

एकैसाथ हराएका बाँके नेपालगञ्ज घर भएको कर्णबहादुर थापाको छोरा ५ वर्षीय दिलीप थापा, बाँके सिमलघारी घरभएका हजारी विकको छोरा १३ वर्षीय अरुण विक, रुकुम सानेचौर घर भएका जुना परियारको छोरा १२ वर्षीय रविन परियार र बर्दिया गुलरिया–९ घर भएकी दिलमाया विकको छोरा ११ वर्षीय अजय विकलाई उद्धार गरेर ल्याइएको महिला विकास अधिकृत बस्नेतले बताए ।

ती उद्धार गरेर ल्याइएका बच्चालाई अहिले जिल्ला सेवा केन्द्र गुलरियामा पुनःस्थापनाको लागि राखिएको उनले बताए । ती बच्चालाई भारतबाट ल्याउन धेरै दिनको प्रयासबाट दुई दिन लगाएर नेपालमा ल्याइएको उहाँले जानकारी दिए ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले हराएका बच्चाको संरक्षणका लागि सरकारले नीति बनाउनु पर्ने बताउँदै पुनःस्थापनापछि बालबालिकाको हकअधिकारको व्यवस्था राज्यले गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

यस वर्ष जिल्ला बालकल्याण समिति तथा महिला तथा बालबालिका कार्यालय, बर्दियाले पाँच बालक र एक बालिका गरी छ जनालाई उद्धार गरेको महिला तथा बालबालिका कार्यालय प्रमुख बस्नेतले जानकारी दिए।