देश

आगलागीमा रु पाँचलाख बरावरको क्षति

इनरुवा । सुनसरीको गढी गाउँपालिका–६ मा बिहीबार राति भएको आगलागीमा रु पाँच लाख बराबरको क्षति भएको छ ।

स्थानीय बुधु उराव (वकिल) को घरमा अचानक भएको आगलागीमा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा उरावका तीनवटा घर जलेर नष्ट हुनुका साथै आठवटा खसीबाख्रा, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचरका सामग्री, नगदलगायत जलेर नष्ट हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।

आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । आगलागीमा सबै घर जलेर नष्ट भएपछि उराव परिवार घरबारविहीन भएको स्थानीय कमलकिशोर शर्माले बताए ।