सूचना प्रविधि

वार्षिकोत्सवमा अनाथालयलाई कम्प्यूटर

मंगलबारे, इलाम । गुराँस लाइफ इन्स्युरेन्स, शाखा कार्यालय, इलामले बिहीबार इलाम नगरपालिका–९ मा रहेको राहसल बाल अनाथालयलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ । शाखाले कम्पनीको १०औँ वार्षिकोत्सवको अवसरमा कम्प्यूटर हस्तान्तरण गरेको हो ।

अनाथालयकै परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम उद्योग वाणिज्य संघ, इलामका अध्यक्ष आनन्द कट्टेललगायतले कम्प्यूटर अनाथालयका संस्थापक अध्यक्ष राजेन्द्र चौहानलाई हस्तान्तरण गरे ।

सोही कार्यक्रममा सन्दकपुर गाउँपालिका–४ का बिमित मृतक गणेशकुमार राईका परिवारलाई समेत मृत्यु दाबी रकम हस्तान्तरण गरेको थियो । रु पाँच लाखको बीमा गरी रु ३८ हजार जम्मा गरेका राईका परिवारलाई कम्पनीले नगद रु १० लाखको चेक प्रदान गरेको थियो ।

कार्यक्रममा समन्वय समिति इलामका प्रमुख बराल, वाणिज्य संघका अध्यक्ष कट्टेल, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष सोम सुसेली, अनाथालयका अध्यक्ष चौहान, कोषाध्यक्ष रतन चौधरी, नगरपालिका–५ का अध्यक्ष ठाकुर श्रेष्ठलगायतले प्रविधिको विकाससँगै बालबालिकाको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने हेतुले कम्प्यूटर प्रदान गरेकोमा कम्पनीलाई धन्यवाद व्यक्त गरेको थियो ।

कम्पनीको इलाम शाखा प्रमुख अर्जुन पोख्रेलले आगामी दिनमा समेत यस्ता सहयोग गर्दै जाने बताए । उनले गुराँस लाइफ इन्स्युरेन्सले ल्याएका नयाँ तथा पुराना बीमा पोलिसीका बारेमा समेत चर्चा गरे ।

गुराँस लाइफको इलाम शाखा नेपालकै सबैभन्दा बढी व्यापार गर्ने शाखाका रुपमा पुरस्कृत भइसकेको छ । सोही कम्पनीकी एजेन्सी मेनेजेर रीता राईले आफ्नो जन्म दिनको अवसरमा राहसलमा रहेका बालबालिकाको शिक्षाका लागि नगद रु पाँच हजार प्रदान गरे । अनाथालयमा १३ बालबालिका रहेका छन् ।