समाचार

बाजुराको दुर्गम क्षेत्रका स्थानीयबासी झरोको भरमा

बाजुरा । बाजुराका अधिकांश स्थानीय तहका स्थानीयवासी सल्लाको रुखबाट निकालिएको झरो बाल्न बाध्य भएका छन् ।

स्थानीय तहको निर्वाचन भएको एक वर्ष बित्न लाग्दा पनि जनप्रतिनिधिले कुनै काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित बन्दै गएका छन् ।

जिल्लाको दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँपालिकाका करीब ९१ प्रतिशत स्थानीयबासी अझै झरो बाल्नुपर्ने वाध्य भएका छन् । जिल्लाका नौवटै स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा ठूलो संख्यामा नागरिकले हालसम्म पनि विद्युत् सेवा नपाएपछि झरो बाल्न बाध्य भएको बताइएको छ ।

हिमाली गाउँपालिका–६, पाडीका १४५ घरपरिवारबाहेक अरु सबैको उज्यालोको स्रोत नै सल्लाको रुखबाट निकालिएको झरो, टुकी रहेको स्थानीयले गुनासो गरेका छन् । छोराछोरीलाई विद्यालयबाट दिएका गृहकार्य र अध्ययन गर्नका लागिसमेत झरोको टुकी बनाउँदै पढाउनु पर्ने बाध्यता रहेको बताइएको छ ।

विद्यालयमा जाने अधिकांश बालबालिका रातिको समयमा झरो बाल्दै किताब पढ्ने गरेका छन् । बिहानको समयमा घरको काम गर्न जाने हुँदा राति नै झरोको टुकी बनाएर गृहकार्य गर्ने गरेका छन् ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले आफ्नो कार्यकालमा हिमाली गाउँपालिकामा स्थानीयवासीलाई विद्युत् निर्माण गरी झरोको समस्या हटाउने बताएका छन्। उनले गाउँपालिकाका दुर्गममा भएको र बस्तीसमेत आवतजावत गर्न कठिनाइका कारण गाउँपालिकामा कम गुनासा आए पनि विद्युत् निर्माणका लागि पहल भइरहेको अध्यक्ष मल्लले बताए ।

हिमाली गाउँपालिकाका एक हजार ६९७ परिवारमध्ये १४५ परिवारले मात्र बत्ती बाल्ने गरेका छन् । यसैगरी, बूढीगंगा नगरपालिका वडा नं २ र ३ का करीब ५०० परिवार अध्याँरोमा बस्दै आएका छन् । लामो समयदेखि उक्त परिवारले वनबाट सल्लाको रुखको झरो बनाउँदै दैनिकी गुजार्दै आएको बूढीगंगा नगरपालिका–२ का खडकराज जोशीले बताए । विद्युत् बाल्ने सपना अहिलेसम्म पूरा नभएको जोशीको भनाइ रहेको छ ।

गरीब परिवारको झरो नै उज्यालोको सहारा बन्दै गएको छ । प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्रीको गाउँका स्थानीय समेत झरोको भरमा रहेको स्थानीय जीतबहादुर बूढ्थापाले बताएका छन् ।

बूढीगंगा नगरपालिकाका साविकको बाह्रबिस र कुल्देवमाण्डौं गाविसमा विद्युत् भएपनि ब्रह्मतोला गाविसका स्थानीय भने झरो बाल्दै आइरहेका छन् ।

जिल्लाका नौमध्ये सातवटा स्थानीय तहका करीब ९० प्रतिशत घरधुरी विद्युत्को पहँुचमा रहेको र जिल्लामा हाल करीब एक हजार ५०० किलोवाट विद्युत् उत्पादन भइरहेको बताइएको छ ।