साहित्य

राष्ट्रिय कविता प्रतियोगितामा पन्ध्र कवि छानिए

रोल्पा । बृहत् साहित्य सम्मेलनअन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा देशभरका १५ जना कवि छनोटमा परेका छन् ।

यसरी छनोट हुनेमा काठमाडौँका अमि प्रिन्स, दोलखाका अशोक नेपाल, रोल्पाका कमल विवश मगर र संगीत मगर, बाग्लुङका गिरी श्रीस मगर, सोलुखुम्बुका गणेश खतिवडा, रुपन्देहीका देशबन्धु आचार्य रहेका छन् ।

यसैगरी छनोट हुने अन्य प्रतियोगीमा गोरखाका निशान निष्कर्ष, लमजुङका प्रज्वल अधिकारी, अछामका लक्ष्मण संगम र वीरेन्द्र जैसी, रुकुम पूर्वका समीर गौतम, सिन्धुपाल्चोकका सुरेश बुढाथोकी, पाल्पाका सुष्मा श्रेष्ठ र बाँकेका हेमन्त शिशिर रहेको मूल आयोजक समितिका संयोजक डिवी टुहुरोले जानकारी दिए।

प्रतियोगिताका लागि ११४ जनाले आवेदन दिएकोमा निर्णायक मण्डलले १५ जना छनोट गरेको आयोजकले बताए । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३५ हजार, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यसैगरी द्धितीय, तृतीय र सान्त्वना पुरस्कार पाउने दुई जनालाई क्रमशः रु २५ हजार, रु २० हजार र रु १०/१० हजार नगद, पदक र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । प्रतियोगितामा रु १० लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको मूल आयोजक समितिका संयोजक टुहुरोले जानकारी दिए ।

नेपाल टेलिकमको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा वसन्त चौधरी फाउण्डेशन, नेपाल पर्यटन बोर्डलगायतको साझेदारी रहेको छ । रोल्पा नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगिता जेठ २० देखि २२ सम्म सदरमुकाम लिवाङमा हुने बताएको छ ।