पर्यटन/संस्कृति

शान्तिधाम निर्माण अन्तिम चरणमा

गाईघाट, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाट बजारस्थित त्रियुगा नदी किनारमा दुई वर्षदेखि निरन्तररुपमा निर्माण कार्य हुँदै आएको बृहत् त्रियुगा शान्तिधाम निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ ।

पुरातात्विक विभागको करीब रु एक करोड ५० लाख र त्रियुगा नगपालिकाको रु २० लाखको आर्थिक लगानीमा निर्माण भइरहेको शान्तिधाम निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको शान्तिधाम व्यवस्थापन समितिका अध्यक्ष गिरीराज खतिवडाले बताए ।

त्रियुगा नगरपालिकाको मातहातको करीब तीन बिगाह १० कट्ठा जग्गामा फैलिएको शान्तिधाम क्षेत्रमा अहिले विभिन्न भौतिक पूर्वाधार निर्माणका कार्य अन्तिम चरणमा पुगेको समितिका पदाधिकारी बताउन्छन् ।

त्रियुगा नदीको आर्यघाट परिसरको ठूलो क्षेत्रमा अहिले शव दाहसंस्कार गर्ने भवन, काजक्रिया गर्ने भवन, मलामी विश्राम गर्ने भवन, पञ्चायन मन्दिर, योगा भवन, बौद्धिक पाठशाला, वृद्धाश्रमसहित पार्कसमेत निर्माण कार्य भइरहेको छ ।

रामसागर बिल्डर कम्पनीले निर्माण गरिरहेको बृहत् त्रियुगा शान्तिधामको निर्माण कार्य अब अन्तिम चरणमा पुगेको प्राविधिक जयन्त बस्नेतले बताए ।

यही आउँदो साउन महिनादेखि बृहत् त्रियुगा शान्तिधाम प्रयोगमा आउन लागेको पनि शान्तिधाम व्यवस्थापन समितिका अध्यक्ष खतिवडा बताउन्छन् ।

त्रियुगा क्षेत्रलाई हिन्दू धर्मअनुसार साँस्कृतिक क्षेत्रको विकास गर्ने लक्ष्यका साथ बृहत् शान्तिधामको निर्माण कार्य गरिएको संबद्ध पदाधिकारी बताउन्छन् ।